काठमाडाै । एकल संक्रमणीयमा एउटाले निर्वाचित हुन चाहिने मतभन्दा बढी पाए अर्कोलाई सर्छ भन्ने बुझिएको छ । तर, मत होइन, मतमूल्य मात्रै ट्रान्सफर हुने निर्वाचन आयोगका अधिकारीहरु बताउँछन् ।
जस्तो- प्रदेश १ को निर्वाचित हुन आवश्यक मतमूल्य २३५० छ र ‘ए’ उम्मेदवारले २५०० मात पाए । उनले विजयी हुन आवश्यक भन्दा १५० बढी मत पाएको मानिन्छ । यो मत सोझै अर्कोमा गएर जोडिने छैन ।
आयोगका अनुसार अब ए उम्मेदवारलाई मत दिने क्रममा एक नम्बरिङ गर्ने मतदाताले २ नम्बर कसलाई दिएका छन् भनेर खोजी गरिन्छ । र, त्यसको कुल संख्या तय गरेपछि एक मतको मूल्य कति भन्ने निकालिन्छ ।
१५० लाई २३५० ले भाग गरेपछि मतसंक्रमण मूल्य (एक मतको मूल्य ) ०.१०६८ आयो । अब उम्मेदवार ‘ए’ लाई पहिलो नम्बर दिँदा ‘बी’लाई दोस्रो नम्बर दिएका मतदाताको मतमूल्यले मतसंक्रमण मूल्यालाई गुणन गरिन्छ र आएको मतमूल्य ‘बी’ले पाएको मतमूल्यमा जोडिन्छ । यसो गर्दा विजयी हुन चाहिने मतमूल्य पूरा भयो भने उम्मेदवार ‘बी’ राष्ट्रियसभा सदस्य निर्वाचित हुन्छ ।
तर, यदि मतमूल्य पुगेन भने अर्को प्रक्रिया सुरु हुन्छ । अब सबैभन्दा कम मतमूल्य पाउने उम्मेदवार तय गरिन्छ र उनलाई सूचीबाट हटाइन्छ । तर, मतमूल्य खेर जाँदैन ।
अब हटाइएको उम्मेेदवारलाई १ नम्बर दिने मतदाताहरुले दोस्रो नम्बर कसलाई दिएका थिए भनेर हेरिन्छ र माथिकै जस्तो मतसंक्रमण मूल्य निकालेर उसलाई दिइन्छ । यसैगरी एकपछि अर्को कम मत पाउने मतदाता हटाउँदै गइन्छ र मतमूल्य अर्कोमा सर्छ ।
अन्तिम दुईजना सदस्य बाँकी हुँदा पनि विजयी हुन आवश्यक मत मूल्य पुगेन भने पनि उनीहरु विजयी बन्छन् । यो प्रक्रिया निकै झञ्झटिलो र लामो हुनेछ ।