काठमाडौं/ वाणिज्य मन्त्री मिन विश्वकर्माले निर्वाचन आयोगले अस्वभाविक रुपमा चुनावी खर्च बढाएको आरोप लगाएका छन् । संघीयताले आर्थिक व्ययभार थपिएको समयमा आयोगले थप खर्च बढाउन सहयोग पुर्याएको विश्वकर्माले आरोप लगाए । तीन तहका निर्वाचनमा कटौती गर्न सकिने खर्चहरुमा आयोगले बेवास्ता गरेको उनले बताए ।
‘यस वर्ष चुनाव भइरह्यो । चुनाव उत्पादनको वर्ष होइन, खर्चको वर्ष हो ’ उनले भने । निर्वाचन आयोगले निर्वाचनका लागि स्वदेशी सामाग्रीको विकल्प नरोजेको बताए । आयोगले आफ्ना सबै निर्वाचन सामाग्रीहरु विदेशबाट आयात गरि खर्च बढाउन भूमिका खेलेको विश्वकर्माले आरोप लगाए ।
‘नेपालमै उपलब्ध हुनसक्ने सामान विदेशबाट ल्याइयो । त्यसले हाम्रो वैदेशिक व्यापार घाटा बढायो ।’ उनले भने, मतपत्र नेपालमै छाप्न सकिने थियो , प्रचार सामाग्री नेपालमै छाप्न सकिने थियो तर आयोगले नेपालमा छापेन ।’ आयोगले आवश्यक नपर्ने गाडी खरिद गरि राज्यलाई थप आर्थिक भार पारेको उनको भनाई छ । ‘निर्वाचन सकिएपछि प्रयोग गर्ने गरि सुविधायुक्त गाडी आयुक्तहरुले किने तर यस बारेमा कसैको ध्यान गएन ।’ विश्वकर्माले भने
रातोपाटी