जैमिनी नगरपालिका–१ कुस्मिशेराकी ३० वर्षीया सुष्मा थापामगरलाई प्रसव बेथा लागेपछि परिवार र आफन्तले धौलागिरी अञ्चल अस्पताल बागलुङ लगे । उनी सामान्य रुपमै सुत्केरी भइन् ।
सुत्केरी भएको भोलिपल्ट अस्पतालले डिस्चार्ज गरिदियो । सामान्य रूपमै सुत्केरी भए पनि दुई सातासम्म उनको पीडा घटेन। पछिल्लो दिन झन बढी पीडा हुन थाल्यो ।
‘सुत्केरी हुँदाको घाउ निको हुँदै जानुपर्ने बेला सहिनसक्नु पीडा हुन थाल्यो’, उनले भनिन्, ‘त्यो दुखाईबारे नजिकका साथी र परिवारका सदस्यलाई सुनाउँदा उल्टै जिस्काए, पीडा त भइहाल्छ नि । अलि–अलि दुखाइ पनि सहन नसक्ने भने ।’
अस्पताल गएर डाक्टरसँग परामर्श गर्दा पनि उनलाई औषधि दिएर पठाइयो । पीडा घट्नुको साटो बढ्दै गयो ।
उनको गुप्तांग भित्र प्याड राखेर टाँका लगाइएको रहेछ । त्यो प्याड सुत्केरी भएको १२ औं दिनमा मात्र निकालिएको छ ।