भारत सरकारले आफ्ना विदेशमन्त्री सुष्मा स्वराजको दुईदिने नेपाल भ्रमणलाई ‘सफल’ भएको दाबी गरेको छ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि तर नयाँ सरकार गठन नहुँदै भएको स्वराजको आगमनलाई नेपालभित्र ‘कुबेलाको भ्रमण’ भन्दै आलोचना गरिए पनि भारतले भने सफल भएको दाबी गरेको खबर आजको नागरिक दैनिकमा छ।
‘सफल भ्रमणको अन्त्य गर्दै विदेशमन्त्री सुष्मा स्वराज स्वदेश (भारत) प्रस्थान गर्नुभएको छ,’ काठमाडौंस्थित भारतीय दूतावासले दुईदिने नेपाल भ्रमण सम्पन्न गरी शुक्रबार स्वराज स्वदेश फर्केपछि ट्विट गरेको छ।
स्वराजको आकस्मिम नेपाल भ्रमणलाई नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ‘राजनीति र कूटनीतिको सामान्य अभ्यास अनुरुप अहिलेको भ्रमण भएको छैन’ भन्दै आलोचना गरेका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले पनि ‘अनुपयुक्त समयको भ्रमण’ बताएका छन्।
नेपालभित्र आलोचना भए पनि करिब २४ घन्टा नेपाल बसाइँमा स्वराजले विभिन्न पार्टीका डेढ दर्जनभन्दा बढी नेतासँग भेट गरिन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग स्वदेश फर्किनु केही घन्टाअघि शिष्टाचार भेट गरेकी थिइन्। राष्ट्रपति र प्रधानमन्त्रीसँगको भेटमा स्वराजले नयाँ संविधानअनुसार सफलतापूर्वक निर्वाचन सम्पन्न गरी नेपाल राजनीतिक स्थिरता, विकास र समृद्धिको मार्गमा अघि बढेकोमा बधाई तथा शुभकामना दिएकी थिइन्।
‘नयाँ संविधानअन्तर्गत निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा भारतीय विदेशमन्त्रीले बधाई दिँदै खुसी व्यक्त गर्नुभयो,’ भेटबारे जानकारी दिँदै प्रधानमन्त्री देउवाका विदेश मामिला सल्लाहकार दिनेश भट्टराईले भने, ‘नेपालको स्थिरता र विकासमा भारतीय सहयोग निरन्तर रहने प्रतिबद्धता उहाँले जनाउनुभयो।’
नयाँ संविधानअनुसार निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा प्रधानमन्त्री देउवालाई उनले बधाई दिएकी थिइन्। सो भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका सबै आयममा सामान्य छलफल भएको थियो। प्रधानमन्त्रीसँग स्वराजको भेटमा अर्थमन्त्री ज्ञानेन्द्र कार्की, उद्योगमन्त्री सुनील थापा, अर्थ राज्यमन्त्री उदयशमशेर राणा, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार भट्टराई, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार ज्ञानचन्द्र आचार्य, परराष्ट्र सचिव शंकरदास बैरागीलगायत उपस्थित थिए।