काठमाडौं/ आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्माको घरमा मंगलबार दिउँसै तोडफोड भएको छ । प्रहरी मुख्यालयका प्रवक्ता डीएसपी मनोज न्यौपानेका अनुसार मंगलबार दिउँसो अज्ञात समूहले घरमा तोडफोड गरेको हो ।

बूढानिलकण्ठ नगरपालिका महादेव खोला टोलका बासिन्दा शर्माको घरमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले ढुंगामुढा गरेका हुन् । तोडफोडले घरको तीनवटा झ्यालको सिसा फुटेको छ ।

प्रहरीले तोडफोडमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताको संलग्नता रहेको आशंका गरेको छ । तोडफोडमा संलग्नको खोजी भइरहेको प्रवक्ता न्यौपानेले अन्नपूर्णलाई जानकारी दिए ।

यअसघि भ्रष्टाचार गरेको अभियोगमा मुद्दा लागेपछि निलम्बित भएको अवस्थामा गत असोज महिनामा शर्माको घरमा बम विस्फोट भएको थियो ।

बूढानिलकण्ठमा रहेको शर्माको घरमा असोज १ गते राति अज्ञात समूहले विस्फोटक पदार्थ पड्काएको थियो । विस्फोटबाट घरको गेटमा आगलागी भएको थियो ।

कर फछ्र्यौट गर्ने क्रममा भ्रष्टाचार गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्माविरुद्ध विशेष अदालतमा १० अर्ब २ करोड बढी मुद्दा दायर गरेको थियो ।

अहिलेसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचार मुद्दामा कर फर्छयोट आयोगका पूर्व सदस्य शर्मालाई विशेष अदालतले एक करोड धरौटीमा रिहा गरेको थियो ।

अन्नपूर्णपाेष्टबाट