काठमाडौ । सर्वोच्च अदालतले अजयराज सुमार्गीको विदेशबाट आएको तर राष्ट्र बैंकले रोक्का गरेर राखेको करिब सवा २ अर्ब रुपैयाँ  उनलाई भुक्तानी दिनका लागि नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ।

सुमार्गीको कम्पनी नेपाल स्याटेलाइट टेलिकम प्रालिले हालेको मुद्दामा न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले दुई अर्ब २५ करोड रुपैयाँ चाहेको बेला निकाल्न दिन अन्तरिम आदेश जारी गरेको हो।

सन् २०१० जनवरीमा साइप्रसबाट नेपाल इन्भेस्टमेन्ट बैंकको खातामा आएको २ करोड १३ लाख अमेरिकी डलर रोकिएको थियो।

सुमार्गीको पैसा रोक्नु पर्ने कानुनी आधार नभएको र लगानी बोर्डले विदेशी फिर्ता नलैजाने सर्तमा स्वीकृति दिएकाले रकम भुक्तानीका गर्न सर्वोच्चले आदेश दिएको छ।

सर्वोच्चको आदेशमा भनिएको छ,

विना आधार र कारण खाताको भुक्तानी प्रक्रिया र कारोबारमा अवरोध गर्ने तथा नियमित हुनुपर्ने भुक्तानीमा अविश्वास र अनिश्चिय खडा गर्ने कार्य निवेदकको साम्पत्तिक हकको ठाडै प्रतिकुल छ । कुनै प्रक्रियागत आवश्यकताको नाममा कुनै पनि मनासिव माफिकको समयसम्म होल्ड गर्न सक्ने हो । अनन्त कालसम्म कदापि होइन ।

अदालतले बृहत्तर रुपमा छलफल गर्न उपयुक्त भएको भन्दै फागुन २ गते नेपाल राष्ट्र बैंकसहितलाई उपस्थितिका लागि निर्देशन दिएको छ।

अदालतले दुबै पक्षको बयान सुनेपछि आवश्यक निर्णय गर्ने जनाएको छ।