विराटनगर/ राष्ट्रिय सभा सदस्यका लागि एक नम्बर प्रदेशमा दुई पदका लागि आज बुधबार मतदान भइरहेको छ । दलित र अल्पसंख्यक एक एक गरि जम्मा दुई सदस्यका लागि बहुमतिय प्रणालीको आधारमा धमाधम मतदान भैरहेको हो ।

सभागृहमा प्रदेश सभा सदस्य र नगर गाउँपालिका प्रमुख र उपप्रमुखका लागि मतदान गर्न अलग अलग स्थानमा मतपेटिका राखेर मतदान गराइदैछ । मतदान गर्न तोकिकै समयदेखि मतदाताहरु लाइनमा बसेका छन् । मतदान शान्त पुर्वक भैरहेको छ ।

एक नम्बर प्रदेशको अस्थायी राजधानी बिराटनगरको सभागृहमा बिहान ठीक १० बजेदेखि मतदान कार्य सुरु भएको छ । मतदान दिउँसो ३ बजेसम्म हुनेछ । निर्वाचन सम्पन्न भए लगत्तै चार बजेदेखि मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिएका छन् ।

दलित कोटामा बाम गठबन्धनतर्फबाट एमालेका उम्मेदवार खेम नेपाली र काँग्रेसको तर्फबाट विन बिश्वकर्माले चुनावी प्रतिस्र्धा गर्दैछन् । यसैगरि अल्पसंख्यकतर्फ बाम गठबन्धनबाट एमालेका अगमप्रसाद बान्तवा राई र काँग्रेसका महेश जाजु बिच चुनावी प्रतिस्पर्धा हुँदैछ ।

राष्ट्रिय सभा सदस्यको एक नम्बर निर्वाचन कार्यालयले प्रकाशन गरेको उम्मेदवारहरुको अन्तिम नामावली अनुसार पुरुषतर्फ एमालेका पर्शुराममेघी गुरुङ, हरिशरण शिवाकोटी र काँग्रेसका रमेशजंग रायमाझी निर्बिरोध चयनका भैसकेका छन् । यसैगरि महिलातर्फ उम्मेदवारी मनोनयन गराएकै दिन १० माघमा महिला तर्फको खुल्ला कोटामा एमालेकी नैनकला ओझा, माओबादी केन्द्रकी बिना पोखरेल र काँग्रेसकी सरिता प्रसाई निर्विरोध भएका थिए ।

नयाँपत्रिकाबाट