मोरङ । प्रदेश नं. १ मा एमालेको संसदीय दलको नेता छान्न चुनाव नै हुने भएको छ । सहमति हुन नसकेपछि चुनाव हुन लागेको हो । तीनजना नेताहरु भीम आचार्य, शेरधन राई र जीवन घिमिरे मुख्यमन्त्रीको दाबीका साथ मैदानमा उत्रिएपछि संसदीय दलको नेता छान्न सकस देखिएको हो । संसदीय दलको नेता नै मुख्यमन्त्रीको उम्मेदवार हुने भएकाले तीनैजना नेताहरु आन्तरिक लविङमा जुटेका छन् ।

एमाले भित्र देखिएको गुटगत राजनीतिले मनोनयन दर्ता गर्ने समय बिहान ११ बजेसम्म कुन मोड लिन्छ यसै भन्न सकिने अबस्था छैन । आचार्य र घिमिरे नेपाल पक्षका तथा राई ओली पक्षमा हुन् । ओली पक्षका नेता भानुभक्त ढकाल राईलाई मुख्यमन्त्री बनाउन केही दिनदेखि बिराटनगरमा नै बसेका छन् ।

नेपाल गुटका योगेश भट्टराई पनि विराटनगरमा आएर आचार्यको पक्षमा लविङ गरेका छन् । तर जीवन घिमिरेको पक्षमा भने अहिलेसम्म कोही पनि त्यसरी खुलेरै लागेको देखिँदैन । चुनावको बेलासम्म घिमिरेले आफ्नो नाम फिर्ता लिन सक्ने सम्भावना बलियो रहेको बताईन्छ । तर घिमिरे आफू चुनावमै जाने दाबी गर्दै आएका छन् ।