काठमाडौं । भूकम्पपीडितलाई थप एकलाख रुपैयाँ दिने सरकारको निर्णयलाई लिएर नेकपा एमालेले प्रश्न गरेपछि एमाले उपाध्यक्ष भीम रावल र अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबीच भनाभन भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बिहान बसेको पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकमा एमाले उपाध्यक्ष रावलले प्रश्न उठाएपछि अर्थमन्त्री बुर्लुक्क उफ्रेका हुन् । निर्देशक समितिमा विपक्षी दलको नेता या उसले तोकेको व्यक्ति सदस्य रहने व्यबस्था अनुसार रावल सहभागि भएका थिए ।
बैठकमा रावलले पाँचवटा प्रश्न गरेका थिए । लामो समय निर्देशक समितिको बैठक नबोलाउनुको कारणबारे उनले प्रश्न गरेका थिए । ‘भूकम्पपीडितलाई एक लाख रुपैयाँ अनुदान बढाउने निर्णय कुन बैठकमा, कुन प्रक्रिया कुन ऐन र प्राधिकरणको कुन तहमा छलफल गर्नुभयो । यो ऐन मिचेर गर्ने काम स्वेच्छारी काम हो, प्रणाली मिच्ने छूट कसले दियो ?’ रावलले प्रश्न गरेका थिए ।
पुनर्निर्माणको कामको प्रगती सन्तोषजनक नदेर्खिको भन्दै रावलले थप प्रश्न गरे । ‘काम गरिरहेका पहिलो सीइओ सुशील ज्ञवालीलाई हटाएर चुनाव लड्न जाने गोविन्द पोखरेललाई किन बोलाइयो ? यसबीचमा काम नहुनुको जिम्मेवार कांग्रेसले लिने कि नलिने ?’ रावलको तेस्रो प्रश्न थियो ।
पहिलो किस्ताको रकम नलिएकालाई चैत्रसम्म बढाउने निर्णय प्रतिपनि रावलले प्रश्न गरे । र, उनले लोकतन्त्रमा निरंकुश शैलीले निर्णय गर्नेभए प्राधिकरणको निर्देशक समितिमा विपक्षीलाई राख्ने व्यबस्था हटाऔ भने । यति भन्दै गर्दा सरकारले किन बढाउन नपाउने भन्दै अर्थमन्त्री कार्की बुर्लुक्क उफ्रिएर आफूलाई पाखुरा सुर्कदै रावल तर्फ आएका थिए । दुईजनावीच विबाद परेपछि बैठकको अध्यक्षता गरेका प्रधामनन्त्री शेरबहादुर देउवाले स्पष्टीकरण दिएका थिए ।
‘यी निर्णय गर्दा बैठक बस्नु पथ्र्यो, तर बैठक बस्न नसक्नुकमजोरी भयो’ देउवाको भनाइ उदृतगर्दै रावलले भने, ‘चुनावमा गरिएको प्रतिबद्धता अनुसार एक लाख दिने निर्णय गरिएको हो ।’
रावलले कामचलाउ सरकारले चुनावी घोषणापत्रको कुरा गर्न नमिल्ने बताएका थिए । देउवाले गल्ती भयो भनेपछि बैठक शुचारु भएको थियो । बैठकमा कुनै महत्वपूर्ण निर्णय भने भएन ।