बिराटनगर । प्रदेश १ को संसदीय दलको नेतामा सहमति जुटाउने एमालेको प्रयास असफल भएको छ । अब चुनावबाटै नेता चयन हुनेछ, जो प्रदेश मुख्यमन्त्री हुनेछन् ।
एमाले संसदीय दलको नेताका लागि भीम आचार्य र शेरधन राईको उम्मेदवारी परेको छ । मुख्यमन्त्रीका अर्का दावेदार जीवन घिमिरे भने पछि हटेका छन् ।
प्रदेश १ मा एमालेको बहुमत छ र वाम भागवण्डामा पनि मुख्यमन्त्री एमालेको भागमा परेको छ ।
दलको नेताका लागि उम्मेदवारी दिएका राई संस्थापन पक्षका हुन् भने आचार्य झलनाथ खनाल-माधव नेपाल पक्षका हुन् ।
पछिल्लो समय पार्टीभित्र आचार्यको आलोचना बढेको र माथिल्लो तहका नेताहरु पनि सन्तुष्ट नरहेको अनुमान गर्दै नेपाल समूहको वैकल्पिक नेता बन्ने दाउसहित घिमिरेले मुख्यमन्त्री दावी गरेका थिए । तर, अन्तिममा उनी पछि हटेका छन् ।
अचार्यको पक्षमा सहमति जुटाउन एमाले सचिव योगेश भट्टराई विराटनगर पुगेका थिए । पोलिटब्यूरो सदस्य एव मोरङ ३ का संासद भानुभक्त ढकाल लगायतका नेताहरु भने शेरधन राईलाई संसदीय दलको नेता बनाउने लविङमा लागेका छन् ।
प्रदेश १ मा एमालेले प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १५ सिट गरी कुल ५१ सिट जितेको छ । संसदीय दलको नेता चुन्न निर्वाचन भएमा २६ मत आवश्यक पर्छ । विगतमा भएको निकटताको आधारमा प्रदेश संसदमा नेपाल समूहको भारी बहुमत छ ।
नेपाल समूहका २९ जना छन् भने ओली समूहका २० जना देखिएका छन् । २ जनाको समूहगत आबद्धता खुलेको छैन ।
तर, आचार्यको सवालमा माधव नेपाल पक्षका आधा दर्जन सांसदले मत नदिने ओली पक्षकोे विश्लेषण छ ।
आचार्य समूहले आफ्नो पक्षमा मत दिने बनाएको सूचीमा समानुपातिक सांसदको संख्या बढी छ ।
तर, आचार्यको रुखो छवि र स्थानीय निर्वाचनको समयमा उम्मेदवारलाई टिकट बाँड्दा पैसा लिएको आरोप लागेपछि उनीविरुद्ध यहाँका नेता आक्रोशित थिए ।