कक्षा ११ र १२ का विद्यार्थीबाट एक रुपैयाँ लिन नपाइने
युवाहरुलाई गाउँमै रोजगार दिएर चर्चामा आएको जिल्लाको सबैभन्दा बिकट पलाता गाउँपालिकाले पुनः लोकप्रिय निर्णय गरेको छ ।
गाउँपालिकाले उच्च शिक्षा निःशुल्क गर्ने भएको निर्णय गरेको हो । गाउँपालिकाको निर्णय अनुसार अब ११ र १२ कक्षामा जुनसुकै विषय अध्ययन गर्ने विद्यार्थीहरुबाट विद्यालयले एक रुपैयाँ शुल्कसमेत लिन पाउने छैनन् ।
गाउँपालिका क्षेत्रभित्र जम्मा चार वटा उच्च माध्यामिक (दश जोड दुई) विद्यालय रहेका छन् । गाउँपालिकाले नै विद्यालयलाई आवश्यक पर्ने रकम विनियोजन गर्ने भएपछि निशुल्क शिक्षा घोषणा गरिएको हो ।
बिगतमा स्थानीय शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक शुल्क लगायतका बिभिन्न शुल्क लिने गरिएपछि विद्यालयलाई आवश्यक रकम गाउँपालिकाबाट विनियोजन गरी पूर्णरुपमा उच्च शिक्षा निःशुल्क गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले जानकारी दिए ।
चार वटा विद्यालयहरुका लागि गाउँपालिकाले ३५ लाख रुपैयाँ छुट्याएको अध्यक्ष बमले बताए । सोही रकमबाट विद्यालयलाई आवश्यक पर्ने पूर्वाधार निर्माण, शिक्षकको तलव खर्च व्यहोर्ने उनको भनाइ छ ।
यसअघि निजी श्रोतबाट सन्चालित दशजोड दुई विद्यालयका शिक्षक, कर्मचारी र आवश्यक ब्यवस्थापनको जिम्मा पूर्णरुपमा गाउँपालिकाले लिने निर्णय भएका अध्यक्ष बमले बताए । ‘विद्यालयको सम्पूर्ण जिम्मा हामीले लिने निर्णय भएको छ,’ उनले भने,’आवश्यक सबै खर्च गाउँपालिकाले व्यहोर्ने भएपछि गाउँपालिकामा संचालित उच्च माविहरुमा निःशुल्क शिक्षा घोषणा गरिएको हो ।’
यस अघि विभिन्न बहानामा विद्यार्थीहरुले वाषिर्क रुपमा ९ हजारदेखि २५ हजारसम्म शुल्क तिर्नुपर्ने बाध्यता थियो । निःशुल्क पढ्न पाउने भएपछि विद्यार्थीहरुले खुसी व्यक्त गरेका छन् ।
गाउँपालिकाको वडा नं. ५ मा रहेको कर्णाली माध्यामिक विद्यालयमा कक्षा ११ मा अध्यनरत छात्रा केषपुराकुमारी बुढाले गाउँपालिकाको निर्णयले आफूहरुलाई उच्च शिक्षाको बाटो सजिलो भएको बताइन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































