काठमाडौं/ वामगठबन्धनको बहुमत रहेको ६ मध्ये एमालेको भागमा परेको चार वटै प्रदेशको मुख्यमन्त्री केपी शर्मा ओली पक्षधरहरु हुने भएका छन्।
प्रदेश–१ प्रदेश–३ को प्रदेश सभा दलको नेतामा ओली पक्षधर नेताहरुको विजयसँगै माधव नेपालका कुनैपनि नेता मुख्यमन्त्री बन्ने सम्भावना अब टरेको छ।
शुक्रबार भएको प्रदेश–१ मा प्रदेश सभा दलको नेतामा भएको निर्वाचनमा ओली पक्षधर शेरधन राईले नेपाल पक्षधर भीम आचार्यलाई पराजित गरे।
५१ सदस्यीय एमाले प्रदेश सभा दलको निर्वाचनमा १ मत बदर हुँदा राईले २६ र आचार्यले २४ मत प्राप्त गरे।
शुक्रबारै प्रदेश–३ मा भएको निर्वाचनमा पनि ओली पक्षधर मकवानपुरका डाृेरमणि पौडेलले नेपाल पक्षधर नेत्री अष्टलक्ष्मी शाक्यलाई पराजित गरे।
५८ सदस्यीय एमाले प्रदेश सभा दलमा पौडेलले ३४ मत प्राप्त गर्दा नेपाल पक्षधर बरिष्ठ नेत्री अष्टलक्ष्मी शाक्यले २४ मतमात्र पाइन्।
एमालेले पाएका ४ मध्ये नेपाल पक्षधर नेता मुख्यमन्त्री बन्ने सम्भावना यिनै दुई प्रदेशमा थियो, तर दुबै प्रदेशमा पराजित भए।
एमालेले पाएको बाँकी दुईमध्ये प्रदेश–५ ओली पक्षधर नेता शंकर पोखरेल निर्विरोध प्रदेश सभा दलको नेता निर्वाचित भइसकेका छन्।
निर्वाचन हुन बाँकी रहेको प्रदेश–४ मात्र हो। तर त्यहाँ नेपाल पक्षधर कुनै मुख्यमन्त्रीका दावेदार छैनन्।
प्रदेश–४ मा मुख्यमन्त्रीको दावेदारी प्रस्तुत गरिरहेका एमाले सचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी समिति सदस्य किरण गुरुङ दुबै ओली पक्षधर नेता हुन्।
साभारः नेपाल खबर