काठमाडाै । संघीय राजधानीलगायत देशका ठूला सहरहरू झिलिमिली भइरहँदा ऊर्जाका लागि धनी क्षेत्र कर्णाली भने अँध्यारोमा छ । मिनेट र घन्टाका हिसाबले होइन, दिनका हिसाबले यहाँ लोडसेडिङ भइरहेको छ ।

कर्णालीमा अहिले दैनिक १४ घन्टासम्म लोडसेडिङ भइरहेको छ । डोल्पा सदरमुकाम दुनैका बासिन्दा एक दिन बिराएर अँध्यारोमा बस्न बाध्य छन् । त्यस्तै जुम्लामा दैनिक १४ घन्टा, हुम्लामा १० घन्टा र कालिकोटमा दुई घन्टा लोडसेडिङ हुँदै आएको छ । स्थानीय बासिन्दा राज्यको बेवास्ताले अँध्यारोमा बस्नुपरेको बताउँछन् । यस क्षेत्रमा २.४ मेगावाट विद्युत् उत्पादन भए पनि मौसमका कारण उत्पादन क्षमतामा घटबढ भइरहन्छ । हिउँ पर्ने समयमा पानीको बहाव कम हुने भएकाले विद्युत् उत्पादनमा कमी आउने गरेको साना जलविद्युत् आयोजनाहरूले जनाएका छन् । त्यस्तै, पुराना उपकरण मर्मतसम्भार तथा फेर्न नसकिएकाले पनि क्षमताअनुसार विद्युत् उत्पादन नहुने गरेको छ ।