काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभासँगै प्रदेशसभाको उपसभामुख आफूले पाउनु पर्ने दाबी गरेको छ । प्रतिनिधिसभाको अधिवेशन आहृवान प्रक्रिया सुरु नै भएको छैन तर, प्रदेशसभाहरुले सभामुख र उपसभामुख चुन्न थालेका छन् । प्रदेश ३ ले सभामुख पाएको छ भने उपसभामुख चयनका लागि भोलि निर्वाचन गर्ने कार्यक्रम छ ।
तर, कांग्रेस नेताहरु भने आफ्नो दललाई वाम गठबन्धनले उपसभामुख अफर गर्नु पर्ने बताउँछन् ।‘संसदीय प्रक्रियामा उपसभामुख दोस्रो दलले लिनु स्वभाविक हो’ नेता बालकृष्ण खाँडले भने, ‘उहाँहरुले त पार्टी एकता गर्ने पनि भन्नु भएको छ । सभामुख र उपसभामुख फरक पार्टी र लिंगको हुने प्रचयन पनि सुर गरेका छौं ।’
उनले अघि भने, ‘उपसभामुखमा हामीले दाबी गर्ने होइन, उहाँहरुले अफर नै गर्नु पर्ने हो ।’ प्रदेश ३ का विपक्षी दलका नेता इन्द्र बानियाँले पनि उपसभामुख आफूहरुले पाउनु पर्ने बताए । सभामुख सबैको साझा हुनुपर्छ भनेर नै आफूले उम्मेदवारी नदिएको भन्दै उनले वाम गठबन्धनले उपसभामुख छाड्नु पर्ने बताए ।
वाम गठबन्धनले भने प्रदेशका मुख्यमन्त्रीसँगै सभामुख र उपसभामुख पदको बाँडफाँट गरिसकेका छन् ।