बेलबारी/ जिल्ला प्रहरी कार्यालय मोरङको आयोजनामा आईतबार बेलबारीमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा अधिकांश प्रश्न कर्ता जनताले बेलबारी क्षेत्रको सडकमा दुर्घटना हुने र त्यसको व्यवस्थापन गर्न सुझाव राखेका थिए । सडक दुर्घटना लगायत अन्य अपराधीहरुलाई पक्राउ गर्न राखिएको सिसी टिभीले सवारी साधनको नम्वर नदेखिएका बताएका छन् । विराटचोक निवासी शिवकुमार श्रेष्ठ स्वयं दुर्घटनामा पर्दा खेरि सिसी टिभीले मोटरसाईकलको नम्वर नदेखाएको गुनाशो राखेका थिए । बेलबारीकै राजन सुवेदीको दाजु दुर्घटनामा पर्दापनि सवारी साधनको नम्वर नदेखिएको गुनाशो राखेका थिए ।

त्यसैगरी धरैजसोले नगर क्षेत्रमा धेरै गाविसहरु मिलेर बनेको कारण प्रहरीको जनशक्ति थपेर सुरक्षा व्यवस्थालाई मजबुत बनाउन सुझाव पेश गरेका थिए । विराटचोकमा अस्थायी चौकी मात्र भएको कारण सिंगो नगरपालिकामा सेवा पुग्न नसकेको र डागीहाटमा प्रहरी चौकी नहुँदा लागुऔषध दुव्यसनी लगायत चोरीका घटनाहरु बढेको गुनाशो त्यहाँका वासिन्दाले राखेका थिए । बेलबारीमा आउने नयाँ ईन्पेक्टरले बनाएको सम्वन्धको बारेमा बोल्दै कुमार खुलाल त्यस्तो गलत प्रवृत्तिका व्यक्तिहरु संग सम्वन्ध नगास्न सुझाव राखेका थिए ।

कार्यक्रममा ट्राफिक व्यवस्थापन, जरिवाना लिने, होटल व्यवसायका समस्या,वालक हराएको लगायतका विषयहरुमा नागरिकले प्रश्न गरेका थिए । कार्यक्रममा बेलबारी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष रामकुमार राई, बेलबारीका भगवतीप्रसाद घिमिरे,नवराज चापागाई,नगेन्द्र श्रेष्ठ, पदम नेपाली, मोहन पोख्रेल र खिना बस्नेतले सवाल राखेका थिए । साथै बेलबारी प्रहरीले दिएको सेवासुविधा प्रति नागरिकले प्रशंसा पनि गरेका थिए ।

कार्यक्रममा जिल्ला प्रहरी मोरङका एसपी अरुण विसीले नागरिकले उठाएका सवालहरुको सुनुवाईका लागि माथिल्लो निकायमा राख्ने बताएका छन् । यो आउने आर्थिक वर्षको नीति तथा कार्यक्रममा चौकी स्थापना लगायत सेवा विस्तारका लागि पहल गर्ने बताएका छन् । त्यसैगरी प्रहरी भित्र रहेको कमीकमजोरीलाई सुधार्ने प्रतिवद्धता पनि जनाएका छन् । बेलबारी प्रहरी संग सम्वन्धित सवाल बारे बेलबारीका प्रहरी निरीक्षक रामजी कटवालले जवाफ दिएका थिए । सिसी टिभी कमगुणस्तरको कारण नम्वर नदेखिएको जनाउदै त्यसलाई सुधार गरेर लाने बताएका छन् ।