काठमाडाैं/ नेकपा एमाले र नेकपा माअोवादी केन्द्रबीच पार्टी एकता गर्ने बताइएको पाँच महिना बढी बितसक्यो । तर अहिलेसम्म एकता हुने वा नहुनेबारे टुंगो लागेको छैन् । पार्टीका शीर्ष नेताहरूले भने एकता बताइरहेका छन् । तर माअोवादीका नेताहरू सरकार गठन अघि नै एकता गर्नुपर्नेमा जोड दिएका छन् भने एमालेका खासगरि अध्यक्ष केपी अोली समूहका नेताहरू पहिला सरकार गठन गरेर एकता गर्ने बताइरहेका छन् ।

संघिय समाजवादी फोरम वाम गठबन्धनको सरकारमा सहभागि हुने चर्चा चलिरहेको छ । सरकारको नेतृत्व गर्न लागेका एमाले अध्यक्ष केपी ओलीले फोरममा अध्यक्ष उपेन्द्र यादवसँग सम्बन्ध बढाएर वार्ता पनि गरिरहेका छन् ।

फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने केन्द्रिय सरकारमा सहभागि हुने सम्भावना ज्यादै न्युन रहेको बताएका छन् । ‘हामी प्रतिपक्षमा रहने सम्भावना बढि छ । किनभने हाम्रा माग मुद्दाका सन्दर्भमा एमालेले आजसम्म पनि स्पष्ट जवाफ दिन सकेको छैन’ श्रेष्ठले भने ।

एमालेले आफूलाई मात्रै जनमत प्राप्त भएको भन्ठानेर एकलौटी तरिकाले देश चलाउन खोज्यो भने दुर्घटना हुने चेतावनी श्रेष्ठले दिए । संघियतालाई पहिचान, अधिकार र समृद्धिलाई एकसाथ अगाडि बढाउने सन्दर्भमा एमालेले महत्वपूर्ण भूमिका खेल्नुपर्ने सुझाब श्रेष्ठको छ ।वैचारिक रुपमा माओवादी केन्द्रसँग सामिप्यता भए पनि एमाले आफ्नै हठमा कायम रहेको उनको भनाई छ ।

एमालेले हिजोको जस्तै एकल जातिय राष्ट्रवादको कुरा गरेर देशलाई जातिवादी र नश्लवादी ढंगले अगाडि बढाउन खोज्यो भने मुठभेड हुने चेतावनी श्रेष्ठले दिएका छन् । ‘अबका दिनमा संविधानलाई दिपावली गर्ने र जलाउने पक्षबिचको मुठभेड अन्त्य गर्नुपर्छ, यसले निकास पाउनुपर्छ’ उनले भने । संविधान संशोधन गरेर नयाँ ढंगले अगाडि बढ्ने कुरामा सुनिश्चित भएको खण्डमा आफूहरु सरकारमा जान सक्ने श्रेष्ठले बताए । एमाले र माओवादीबिच एकता हुनुपर्नेमा जोड दिदै श्रेष्ठले स्थिर सरकार दिनुपर्ने बताए । ‘पार्टी एकता भएन भन जनताको लागि धोका हुन्छ । यस्तो अवस्थामा एमाले र माओवादीबिच सरकार पनि बन्दैन’ श्रेष्ठले भने ।

दुई दलबीच एकता पनि नहुने र संयुक्त सरकार पनि नबन्ने अवस्था आयो भने आफूहरले विकल्प दिन सक्ने श्रेष्ठको भनाई छ । माग र मुद्दाहरु मिल्नेको बिचमा प्राकृतिक गठबन्धन गरेर सरकार बनाउन आफूहरु तयार रहेको उनको भनाई थियो । ‘माओवादी केन्द्र, फोरम, नेपाली कांग्रेस, राजपा लगायतका दलहरु मिलेर सरकार बनाउनुपर्ने अवस्था आउन सक्छ’ उनले भने ।

संघिय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी मिलेर प्रदेश नम्बर २ मा सरकार बनाउने विषयमा सहमति भएको छ । श्रेष्ठले प्रदेशको मुख्यमन्त्री फोरमका नेता लालबाबु राउत नै बन्ने जिकिर गरेका छन् । फोरमका तर्फबाट मुख्यमन्त्री र राजपाका तर्फबाट सभामुख बनाउने सहमति भएको बताए । (साभार : खबरडबली)