धरान । धरान–१२ छाताचौक नजिकै दुर्घटना परेको स्कारपियो जीपको रातारात नम्बर परिवर्तन गरेको पाइएको छ । स्कारपियो जीपको नम्बर परिवर्तन गर्दै गरेको समयमा प्रहरीले पक्राउ गरेपछि उक्त कुरा खुलासा भएको थियो । दुर्घटना हुँदा उक्त गाडीको नम्बर को १ च ९६८० नम्बर रहेको थियो । दुर्घटनापश्चात उक्त गाडीको नम्बर बा १४ च ७४८५ नम्बरको नम्बर प्लेट हालिएको थियो । अत्यधिक मादक पदार्थ सेवन गरी चलाएको गाडी सोमबार बिहानको राति पोलमा ठक्कर दिएर दुर्घटनामा परेको थियो । दुर्घटनामा स्कारपियो चलाइरहेका चालक धरान–९ का प्रविणकुमार ताम्राकार घाइते बनेका थिए । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ताम्राकारको आँखामा चोट लागेको छ । स्कारपियोको सवार अन्य ६ जना सामान्य घाइते बनेका थिए । जसमध्ये ४ जना महिला र २ पुरुषसहित स्कारपियोमा कुल ७ जना सवार रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले जानकारी दिए । अन्यको नाम प्रहरीले सार्वजनिक गरेको छैन् । डिएसपी पौडेलले नम्बर प्लेट परिवर्तन गर्दै गर्दा प्रहरीले पक्राउ गरेको थियो । तर, अनुसन्धानबाट गाडी चोरीको नभएको खुलेको उनले बताए । घटना सोमबार बिहानको राति साढे १ बजेतिर भएको थियो । गाडी बगरकोटबाट छाताचौकतर्फ जाँदै गरेको अवस्थामा दुर्घटना भएको थियो । अत्यधिक गतिका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।