काठमाडौं/  प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएपछि नराम्रोसँग छट्पटिएका एमाले नेता वामदेव गौतम राज्य सञ्चालनमा आफ्नो भूमिका स्थापित गर्न प्रयत्नशील रहेका छन्।

उनले वाम गठबन्धनका नेताहरूसमक्ष विकास केन्द्रित एक विशेष संयन्त्र निर्माण गर्ने प्रस्ताव राख्दै आएका छन् । विकास प्राधिकरण या त्यस्तै कुनै नाममा संयन्त्र गठन गरी त्यसको प्रमुख आफैँ बन्ने चाहना वामदेवले प्रकट गरेका छन् ।

केही समयअघि देश कसरी बनाउन सकिन्छ भन्ने विषयमा एक पुस्तक लेखेर भव्य समारोहबीच विमोचनसमेत गराएका गौतममा पछिल्लो समय औधी विकासप्रेम झल्किएको महसुस उनका निकटवर्तीहरूले गरेका छन् । एमालेमा अहिले देश विकासको सबैभन्दा धेरै कुरा गर्ने नेता भनेर वामदेवलाई लिन थालिएको छ ।

यसैक्रममा उनले त्यस्तो एउटा निकायको परिकल्पना गरेका छन् जसले विकासको विभिन्न मोडल तयार गर्ने, विकास आयोजनाहरूको निर्माण र सुपरीवेक्षण गर्ने तथा विकासका कार्यक्रमहरू अनुगमन गर्दा मापदण्डअनुरूप गुणस्तरीय भएको नपाइएमा आवश्यक कारबाहीको सिफारिस गर्नेसम्मको अधिकार राख्नेछ ।

गौतमले आफ्नो अवधारणा प्रचण्ड र केपी ओलीलगायतका नेताहरूसमक्ष प्रस्तुत गर्दा सबैले ‘अति राम्रो’ भनी प्रशंसा गरेका छन् । तर, त्यस्तो निकाय गठन गर्ने पक्षमा कोही पनि रहेका छैनन् । वामदेवको अवधारणा अनुरूप कुनै निकाय खडा गर्ने हो भने मन्त्रिमण्डल र राष्ट्रिय योजना आयोगको काम के हुने हो, त्यसको जवाफ भने वामदेव स्वयम्सँग पनि नरहेको बताइन्छ ।

 Shikharnews