मोरङ । "सिमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियान” अन्तर्गत रानी प्रहरीले बुधबार अन्दाजी १ लाख ९४ हजार ४ सय ८० मुल्य बराबरो तस्करीको सामान बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले भारतबाट भन्सार छली तथा चोरी तस्करी गरी नेपालतर्फ ल्याउँदै गरेको खाद्यान्न, लत्ताकपडा, मरीच, सुपारी साईकल र रिक्सा लगायतको सामान बराबरको सामान बरामद गरेको हो । बरामद गरिएको सामान आवश्यक अनुसन्धान पश्चात कारबाहीका लागी भन्सार कार्यालय रानी मोरङ बुझाईएको रानीका प्रमुख प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो ।
त्यसैगरी भारतबाट नेपालतर्फ भन्सार छलेर चोरी तस्करी गरी ल्याउँदै गरेको अन्दाजी ७ हजार मुल्य बराबरको ब्रोईलर कुखुरा सहित एक जनालाई पक्राउ गरेको छ । कुखुरा सहित बिराटनगर महानगरपालिका १७ बस्ने १८ बर्षिय नसिम मियालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ । मियाले तारको झोलामा राखेर साईकलमा नेपालतर्फ आउँदै गरेको अबस्थामा चेकजाँच गर्ने उक्त मुल्य बराबरको कुखुरा फेला पारी बरामद गरेको रानीका प्रहरी प्रमुख प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनु भयो ।
कुखुरा सहित पक्राउ परेका मियालाई आवश्यक अनुसन्धान पश्चात कारबाहीका लागी आजै पशु क्वारन्टाईन कार्यालयमा बुझाईएको निरौलाले जानकारी दिनु भयो ।