क्रिकेटमा एकदमै कठिन अवस्थाबाट खेल जित्नेलाई जति खुशी हुन्छ, हार्नेलाई त्यत्तिकै पीडा हुन्छ । नेपालले बुधबारको खेलमा अन्तिम बलमा अविश्वसनीय जित हासिल गरेपछि क्यानाडाका खेलाडीहरु असैह्य पीडामा थिए । अन्तिम ओभर बलिङ गरेका थिए, क्यानाडाका प्रमुख बलर सेसिल पर्बेज । त्यतिबेला नेपाललाई ६ बलमा ८ रन चाहिएको थियो । पहिलो चार बल उनले सटिक योर्कर फ्याकेका थिए, जसमा नेपाली ब्याट्सम्यान करण केसीले कुनै रन लिन सकेनन् । तर, पाचौं बललाई पर्वेजले भुल्ने छैनन्, जसमा करणले ठूलो छक्का लगाए ।
तिल्मिलाएका पर्बेजले छैटौं बल वाइड फ्याक्न पुगे, जसले म्याचलाई बराबरीमा ल्यायो । नेपाललाई विश्वकप छनोटमा पुर्याउन बराबरी नै पर्याप्त थियो । तर, क्रिजमा रहेका करण केसी र सन्दिप लामिछानेलाई यो कुरा थाहा थिएन, किनकी यूएई र नामिबियाको परिणामबारे उनीहरु अनभिज्ञ थिए । त्यसैले जसरी पनि जित्नैपर्छ भन्ने उनीहरुको दिमागमा थियो ।
अन्तिम बलमा बलरले योर्कर फ्याक्ने प्रयास गर्दा लो फुलटस फ्याक्न पुगे, जसलाई करणले सहजै मिड विकेटतर्फ धकेलेर एक रन लिए । यसरी नेपालको जित सुनिश्चित भयो ।
अप्रत्याशित हारले क्यानाडाका लागि विश्वकप यात्राको ढोका बन्द भयो । खेलाडीहरु मैदानमै घोप्टो परे । मैदानबाहिर बाउन्ड्री लाइनमा जितको उत्सव मनाउन झण्डा लिएर बसेका क्यानाडाका समर्थक स्तब्ध बने ।
अन्तिम बलमा एक रन लागेपछि पर्वेज सम्हालिन सकेनन् र थचक्क भुईँमा बसे । यता क्रिजमा रहेका सन्दिप लामिछाने जितको खुशीमा उपि|mनु अगाडि परवेज भएतिर आएर उनलाई सान्त्वना दिए । त्यसपछि मात्र उनले उत्सव मनाए ।
आफूभन्दा दोब्बर उमेरका विपक्षी खेलाडीलाई उनले सान्त्वना दिइरहेको दृष्य टिठलाग्दो थियो ।
सन्दिप भन्छन्, ‘उनीहरुले पनि राम्रो खेलेका थिए । तर, एउटा टिमले हार्नैपथ्र्यो । त्यतिबेला उनीहरु कस्तो मनोदशामा थिए म बुझ्न सक्छु ।’