दमक । एमाले अध्यक्ष तथा झापा क्षेत्र ५ का प्रतिनिधिसभा सांसद केपी ओली दोस्रोपटक प्रधानमन्त्री चयन भएपछि जिल्लावासी उत्साही भएका छन् । उनीहरूले खुसियालीमा बिहीबार जिल्लाका विभिन्न स्थानमा दीप प्रज्वलन गरे । ओली नेतृत्वको सरकार दीर्घकालसम्म चल्ने र त्यसले समग्र मुलुकको विकास हुनेमा आशा व्यक्त गरे ।

दमकका व्यवसायी विमल शर्माले राष्ट्रले प्रधानमन्त्रीका रूपमा राष्ट्रवादी नेता पाएको टिप्पणी गरे । ‘यतिबेला देशलाई कुशल नेतृत्व आवश्यक थियो । त्यो पूरा भयो । अब, मुलुकमा समग्र विकासको आशा गर्न सकिन्छ,’ उनले भने । अघिल्लोपटक घोषणा गरेका योजनालाई कुशलताका साथ सफल पार्न ओलीलाई सुझाव दिए ।

कमल गाउँपालिकाका लेखक ओमप्रकाश गौतमले दोस्रोपटक प्रधानमन्त्रीको जिल्लावासी बन्न पाएकोमा खुसी लागेको बताए । उनले ओलीबाट देश विकासको धेरै आशा राख्न सकिने दाबी गरे । ‘उहाँ हाम्रो नेता एवं जनप्रतिनिधि भएकाले पनि खुसी हुने नै भयौं,’ उनले भने, ‘त्योभन्दा बढी उहाँको कार्यकालमा यो क्षेत्रको भौतिक एवं आर्थिक विकासले ठूलो फड्को मार्ने आशा राखेका छौं ।’ उनले ओली अघिल्लोपटक प्रधानमन्त्री भएको बेला घोषणा गरेका योजनालाई पहिलो प्राथमिकतामा राखेर पूरा गर्नुपर्ने बताए ।

राप्रपा नेता राम थापाले झापा क्षेत्र ५ का जनताले दिएको मतले राष्ट्रले प्रधानमन्त्री पाएकोमा गौरव लागेको बताए । उनले ओली राष्ट्रवादी र विकासप्रेमी नेता भएकाले यो पटकको कार्यकालबाट मुलुकले देखिने गरी परिवर्तन प्राप्त गर्ने विश्वास व्यक्त गरे । उनले झापा र आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि ओलीले दमक–चिसापानी–रबी सडकको निर्माण पूरा गराउनेतर्फ ध्यान दिनुपर्ने सुझाए ।

‘उहाँ यस ठाउँबाट प्रतिनिधि बनेर प्रधानमन्त्री बन्नुभयो । यो ठाउँको विकास गराउनु उहाँको दायित्व हो,’ थापाले भने, ‘त्यसैले यो ठाउँको समग्र विकासका लागि दमक–रबी सडक निर्माण हुने आशा गरेका छौं ।’ रेडक्रसकर्मी प्रकाश बुढाथोकीले ओलीले पहिला अस्थिर राजनीतिलाई स्थिर बनाउनुपर्ने सुझाव दिए । उनले राजनीति स्थिर नहुँदासम्म देशलाई ‘ट्रयाक’ मा ल्याउन नसकिने तर्क गरे । ‘ओली राष्ट्रवादी र कुशल नेता हुनुहुन्छ । उहाँले मुलुकको अहिलेको बेथितिलाई ट्रयाकमा ल्याएर अघि बढ्नुभयो भने देशको समग्र विकास धेरै टाढा छैन,’ उनले भने ।

उनले अघिल्ला सरकारका भन्दा अहिलेका प्रधानमन्त्रीबीच धेरै फरक भएकाले पनि ओलीको दोस्रो कार्यकाल ऐतिहासिक हुनेमा आशावादी रहेको बताए । ‘पहिला राजनीतिक अस्थिरताबीच प्रधानमन्त्री बन्थे । तर, अहिले त्यो अवस्था छैन । उहाँ एकल बहुमतबाट प्रधानमन्त्री बन्नुभएको छ,’ उनले भने, ‘राम्रो काम गर्नुभयो भने यो सरकारले मुलुकमा दीर्घकालसम्म छाप छाड्न सक्छ । त्यसैले ओली हाम्रो मात्र नभई समग्र देशको प्रधानमन्त्री बन्न सकुन् ।’ उनले ओलीलाई पाँचवर्षे कार्यकालको सरकार सफलतापूर्वक सञ्चालन गर्न शुभकामनासमेत दिए ।

व्यवसायी सुरज धिमालले ओली दोस्रोपटक प्रधानमन्त्री बन्न सफल हुनु यस क्षेत्रका व्यवसायीका लागि खुसीको कुरा भएको प्रतिक्रिया दिए । उनले ओलीले अघिल्लो सरकारमा घोषणा गरेका विश्वकै अग्लो बुद्ध मूर्ति निर्माण र औद्योगिक क्षेत्र निर्माण जस्ता राष्ट्रिय गौरवका योजना अब पूरा हुने आशा जागेको बताए ।

उनले ओलीको पहलमा यी योजना पूरा भए झापा ५ को मात्र नभई प्रदेश १ कै विकासमा कोसेढुंगा साबित हुने दाबी गरे । अर्का स्थानीय दीपक खडकाले आफ्नै नगरको मान्छे प्रधानमन्त्री भएकाले यो क्षेत्रले पनि विकासमा फडको मार्ने आशा व्यक्त गरे । उनले ओलीले परनिर्भरता घटाउँदै देशलाई आर्थिक समृद्धितर्फ अघि बढाउनेमा आफू आशावादी रहेको बताए । ओलीकै निर्वाचन क्षेत्रका स्थानीय लीलाराज बरालले अबको सरकारले भाषणभन्दा बढी काम गर्नुपर्ने सुझाव दिए । ‘उहाँले अघिल्लो सरकारकै पालामा धेरै बोलिसक्नुभएको छ । अब काम गर्नुपर्छ,’ उनले भने ।