धरान/भारतीय सेनामा कार्यरत बागलुगका तीर्थ पुनले नेपाल आइस नेवा च्यारिटी ८ के रनको छैठौं संस्करण उपाधि चुम्दै ह्याट्रिक पूरा गरेका छन् ।
[caption id="attachment_73449" align="alignnone" width="768"]
नेपाल अाइस नेवा च्यारिटी ८ के रनका विजेता भारतीय सेनाका तीर्थ पुन । तस्बिरः उपेन्द्र चाम्लिङ[/caption]
चौथोदेखि उनले लगातार उपाधि चुम्न सफल भएका हुन् । विजेता पुनले नगद ४० हजार रुपैया, मेडल र प्रमाण पत्र पाए । त्यस्तै महिलामा एपिएफकी २००४ की एथेन्स ओलम्पियन कान्छीमाया कोजू विजेता बन्दै नगद ४० हजार रुपैया पाइन् । उनी पहिलो पल्ट धरान रन समूहले आयोजना गरेको नेवा च्यारिटी ८ के रनमा स्पर्धा गरेकी हुन् ।
पुरुषमा विभागीय टिम आर्मीका हरि रिमाल दोस्रो बन्दा आर्मीकै टीकाराज कटुवाल तेस्रो बने । उनीहरुले क्रमशः नगद ३० हजार र २० हजार रुपैयासहित मेडल पाए । महिलामा चौथो नेवा च्यारिटीकी विजेता धाधिगकी सन्तोषी श्रेष्ठ दोस्रो बनिन् । उनी पाँचौं नेवा च्यारिटीमा दोस्रोमा सिमित बनेकी थिइन् । त्यस्तै कैलाली निवासी एपिएफकै फुलमती राना तेस्रो बनिन् । दोस्रो र तेस्रो बनेका श्रेष्ठ र रानाले नगद ३० र २० हजार रुपैया पाए ।
१२ वर्ष मुनीको केटीमा अजुना प्रधान विजेता बन्दा बिपासा राई र सुमिक्षा राई क्रमशः दोस्रो र तेस्रो बने । केटामा जुम्लाका विकास बुढा विजेता बन्दा बरदान राई र दिपेश राई दोस्रो र तेस्रो बने । उनीहरुले नगद ७, ५ र ३ हजार रुपैयासहित मेडल पाए । अण्डर १६ मा केटामा प्रकाश कठायत पहिलो बन्दा समिर मोहोरा दोस्रो र नारायण सुब्बा तेस्रो बने । त्यस्तै केटीमा सिर्जना राई प्रथम बन्दा अमृता भण्डारी र बन्दना बुढा क्रमशः दोस्रो र तेस्रो बने । उनीहरुले पनि नगद ७, ५ र ३ हजार रुपैया पाए ।
त्यस्तै ४० वर्ष माथिको भेट्रानको महिलामा रीता राई विजेता बनिन् । गंगा गुरुग र धनमाया योगयाग दोस्रो र तेस्रो बनेका छन् । पुरुष तर्फ निर्मल राई बिजेता बन्दा मोहन सुब्बा दोस्रो र राम तामाग तेस्रो बने । उनीहरुले पनि नगद ७, ५ र ३ हजार रुपैयासहित मेडल पाए । सुपर भेट्रानमा ६९ वर्षीय धरानकै मनमोहन पलिखेलाई उपहार प्रदान गरिएकाे छ ।
त्यस्तै धरान रनमा ५३ हप्ता पार गरेकी सिवानी देव र ५२ हप्ता कुदेका सुप्रभात राईलाई रनर अफ दी इयरबाट पुरस्कृत गरिएको छ । उनीहरुलाई गोल्डस्टार कम्पनीको सुजसहित उपहार प्रदान गरिएको धरान रन समूहका अध्यक्ष रोमू राईले बताए । त्यस्तै तीनपटकसम्म एभरेष्ट एथलेटिक्समा स्वर्ण पदक विजेता धावक हरि रोकायलाई सम्मान पत्रले सम्मानित गरिएको छ । विजेताहरुलाई धावक हरि रोकाय, एथलेटिक्स एसोसिएसनका पूर्व अध्यक्ष रघुरातज कोन्त, धरान रनका संस्थापक अध्यक्ष सन्तोष राई, प्रभु बैंकका इटहरी शाखा प्रमुख नविन तामागलगायतले पुरस्कार वितरण गरे ।
रनमा २५ सय धावकधाविकाहरु प्रतिस्पर्धा गरेका थिए । २५ सय धावक रन गर्ने नेपालकै यो पहिलो प्रतियोगिता बनेको छ । छैठौं नेवा च्यारिटीबाट संकलित रकम नेवा च्यारिटी स्वास्थ्य कोष बनाउने तयारी भएको छ । महिला तथा बालबालिकाहरुलाई लक्षित गर्दै यो कोष खडा गरिएको संस्थापक अध्यक्ष सन्तोष राईले बताए । कोषको अनावरण सन्तोषको आमा र उनले गरेका थिए ।