काठमाडौं/ सरकारबाट बाहिरिने बित्तिकै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सत्ता हत्याउने कसरत सुरु गरेका छन् । तर उनलाई पार्टीको सत्ता त्यति सजिलै हात पर्न नदिन अर्का नेता प्रकाशमान सिंह कम्मर कसेर तयार भएका छन् ।

कांग्रेस संसदीय दलको नेता कसलाई बनाउने भन्ने बिषयमा युवा नेताहरुवीच घनिभूत छलफल चलिरहेका बेला पूर्व महामन्त्री प्रकाशमान सिंहको संभावनामाथि पनि चर्चा भैरहेको थाहा भएको छ । सिंह स्वयंले पनि नेतृत्व परिवर्तन नगरी कांग्रेस सुध्रिननसक्ने भनेर सभापति देउवालाई ठाडो चुनौति दिएका छन् । उनले सोमबार एक कार्यक्रममा यही बिचार व्यक्त गर्दै आफू नेतृत्वमा आउन तयार रहेको संकेत दिईसकेका छन् ।

यता देउवाको विकल्पमा उभिन नसकेको भनेर आलोचना खेपिरहेका बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सिंहलाई अघि बढ्न इशारा गरिसकेको तरुण दलका एक पूर्व पदाधिकारीले बताएका छन् । पौडेलले महामन्त्री शशांक कोइराला,नेताहरु शेखर कोइराला र सुजाता कोइरालासँग समेत परामर्श गरेर सिंहलाई दलको नेतामा अगाडि बढाउनु पर्छ भनेर गृहकार्य गरिरहेको बताईएको छ ।

यसरी दलको नेतामा सोचे जस्तै एकलौटी गर्न नसिकने बुझेका सभापति देउवाले पूर्व महामन्त्री सिंहसँग प्रतिस्पर्धा आवश्यक तयारी गरिरहेको थाहा भएको छ । संसदीय दलको निर्वाचनको मिति तय भैनसकेको भएपनि देउवा र सिंहबीच प्रतिस्पर्धा हुने कुरा भने पक्का भएको तरुण दलका ती नेताले दावी गरे ।

साभारः सरलपत्रिका