पानवारी । पूर्वाञ्चल इन्जिनियरिङ कलेजमा सम्पन्न फ्लाइटेक इन्टरकलेज बास्केटबल प्रतियोगिता धरान मेघा कलेजले जितेको छ । मंगलबार भएको फाइनल खेलमा धरान मेघा कलेजले महेन्द्र बहुमुखी क्याम्पस धरानलाई पराजित गरी विजेता बनेको हो । मेघा कलेजले महेन्द्र क्याम्पसलाई ३९–३४ अंकले पराजित गरेसँगै नगद रु १५ हजार तथा ट्रफि समेत जितेको छ । उपविजेता बनेको महेन्द्र क्याम्पसले नगद रु १० हजार तथा ट्रफि जितेको छ । एकदमै प्रतिष्पर्धा रहेको खेलको प्रत्येक क्वाटरमा मेघा कलेज र महेन्द्र कलेजले ३–७, १३–४, १४–११ र ९–१२ अंक जोडेका थिए । नेपाल विद्यार्थी संघ पूर्वाञ्चल क्याम्पस समितिको आयोजनामा भएको प्रतियोगितामा म्यान अफ द फाइनल महेन्द्र क्याम्पसका विक्रम लिम्बू र प्लेयर अफ द टुर्नामेन्ट मेघा कलेजका हेमन्त राई घोषित हुदै ट्रफि प्राप्त गरेका थिए । धरान, इटहरी र विराटनगरका गरी जम्मा १४ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको विजयी टिमलाई समापन कार्यक्रममा प्रमुख अतिथि पूर्व वाणिज्य मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिन विश्वकर्मा लगायतका अतिथिले पुरस्कार वितरण गरेका थिए भने कार्यक्रमको सभापतित्व नेवि संघ पूर्वाञ्चल क्याम्पस समितिका सभापति सरोज अधिकारीले गरेका थिए ।