भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली एकपछि अर्को गर्दै विभिन्न रेकर्ड आफ्नो नाममा दर्ता गराउँदैछन् । उनी अहिले वान डे र्‍याङ्किङमा ९ सय अंक पार गर्ने भारतको पहिलो र विश्वको सातौँ खेलाडी भएका छन् ।

आईसीसीको नयाँ वान डे र्याङ्किङ अनुसार विराट कोहली ९ सय ९ अंकसहित पहिलो स्थानमा छन् । वान डे र्‍याङ्किङमा सबैभन्दा बढी ९ सय ३५ अंकसहित वेष्टइन्डिजका भिभियन रिचर्ड्सको नाममा रेकर्ड रहेको छ । ताजा र्‍याङ्किङ अनुसार एबी डिभिलियर्स ८ सय ४४ अंकसहित दोस्रो स्थानमा र ८ सय २३ अंकसहित डेभिड वार्नर तेस्रो स्थानमा रहेका छन् ।

विराट कोहलीले गएको वर्ष पनि टेस्ट र्‍याङ्किङमा ९ सय अंकको आंकडा पार गरेका थिए । रिपोर्टका अनुसार विराट कोहलीभन्दा पहिले विश्वका चार खेलाडीले मात्रै ९ सय अंक पार गर्न सफल भएका छन् । उनीहरु भिभियन रिचर्ड्स, ब्रायन लारा, हाशिम अमला तथा एबी डिभिलियर्स छन् ।

वान डे र्‍याङ्किङमा विराटले छलाङ मार्नुको पछाडि कारण उनले दक्षिण अफ्रिकाविरुद्धको एक दिवसीय श्रृङ्खलामा गरेको प्रदर्शन रहेको छ । श्रृङ्खलामा विराटले ५ सय ५८ रन बनाए । यो आफैमा एउटा रेकर्ड हो । ५–१ ले श्रृङ्खला आफ्नो पोल्टामा पारेको भारतीय टिमका अन्य खेलाडीको र्‍याङ्किङमा पनि सुधार आएको छ ।

तीव्र गतिका भारतीय बलर जसप्रीत बुमराह दुई स्थान माथि उक्लँदै पहिलो स्थानमा पुगेका छन् । उनीसँगै पहिलो नम्बरमा अफगानिस्तानका १९ वर्षीय स्पिनर राशिद खान पनि छन् । राशिद खान सबैभन्दा कम उमेरमा पहिलो स्थानमा पुग्ने खेलाडी बनेका छन् ।