पानवारी । लामो समयदेखि धरानमा एयरपोर्ट बन्ने विषय चर्चामा रहे पनि अहिलेसम्म एयरपोर्ट नबनेको भन्दै अब चाडै एयरपोर्ट बनाउने बताए ।
शुक्रबार धरानमा प्रादेशि महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री राईले लामो समयदेखि चर्चामा रहेको धरान एयरपोर्ट के कुरामा अड्किएको छ ? भन्ने प्रश्न गर्दै यसको विषयमा खोजी गरिने बताए । उनले धरानमा मात्र नभइ विराटनगर एयरपोर्टलाई अन्तराष्ट्रिय एयरपोर्टको रुपमा विकास गर्न अध्ययन भइरहेको खुलासा गरे । मुख्यमन्त्री राईले धरानमा शुक्रबारदेखि सुरु भएको प्रादेशिक महोत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अधिकांश समय १ नं. प्रदेशको विकासको विषयमा बोल्दै सरकारको एकमात्र ध्यान अर्जुनदृष्टि विकास र समृद्धिमा रहेको बताए ।
उनले १ नं. प्रदेशमा चिनसँग जोडिने २ वटा मुख्य नाका रहेको भन्दै चिनसँग जोडिने किमाथांका–जोगबनी सडकलाई ६ लेनको बनाउन तिब्र गतिमा काम गर्ने बताए । उनले किमाथांका सडकको विषयमा प्रधामन्त्रीसँग हिजो (बिहीबार) पनि गम्भिर रुपमा छलफल भएको बताए । राईले भने –‘बनिसकेको सहरहरु स्मार्ट सिटी बन्ने सम्भावना एकदमै कम हुने भएता पनि धरान मात्र यस्तो शहर हो जुन बनिसकेको सहर भएपनि स्मार्ट सिटी बन्ने सम्भावना छ ।’ त्यस्तै गरी धरानबाट भेडेटार, बराहक्षेत्रसम्म केबलकार चलाउन सम्भाव्यता अध्ययन भइरहेको समेत राईले बताए ।
धरान धेरै नगरहरुमध्ये सुन्दर सहर भएको भन्दै धरानका चिनारी र पहिचान अत्यन्तै धेरै रहेको बताए । राईले भने धरानमा विजयपुर जस्तो ऐतिहासिक क्षेत्र छ, खेलकुदको शहर भनेर धरानलाई चिनिन्छ, स्वास्थ्यको क्षेत्र त्यस्तै गरी धेरै जातजातिको बसोबास भएको क्षेत्र धरान भएको र विविध साँस्कृतिक महत्व बोकेको सहर धरान भएको बताए ।
प्रदेशको विकासको लागी मास्टर प्लान भइरहेको भन्दै सरकारले छिट्टै योजना प्रस्तुत गर्ने राईले दाबी गरे । उनले १ नं. प्रदेश चियाको राजधानी भएको दाबी गर्दै जडिबुटि, कृषि उत्पादन र पर्यटन उद्योग १ नं. प्रदेशको विकास र समृद्धिको मुख्य आधार भएको बताए ।
प्रादेशिक महोत्सवले उद्योग व्यवसायको प्रवद्र्धन हुन सहयोग पुग्ने बताएका राईले भने महोत्सवले प्रबद्र्धन मात्र नभई वस्तुको बजारीकरण र उद्योगको विकास हुने बताए । उनले भने –‘सरकारको अनुचित नीतिका कारण कृषकले उत्पादन गरेको बस्तु तथा विभिन्न उद्योगले उत्पादन गरेको वस्तुले उचित मूल्य र बजार नपाउदा उद्योगी व्यवसायी र किसानहरु निरास भएको’ भन्दै अब उपर्युक्त नीति बनाएर अघि बढ्ने बताए । उनले सबै उद्योगी व्यवसायीको सुरक्षा, लगानीको ग्यारेण्टी साथै उत्पादन भएका बस्तुहरुको उचित मुल्यका साथै सहज बजार उपलब्ध हुने किसिमको नीति सरकारले बनाउने दाबी समेत गरे ।
उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्दै महोत्सवका मूल संयोजक तथा आयोजक संस्था सुनसरी उद्योग वाणीज संघका उपाध्यक्ष विजय श्रेष्ठले धरानमा रहेको औद्योगिक क्षेत्र जीर्ण अवस्थामा पुगको भन्दै दुखेसो व्यक्त गरेका थिए । महोत्सवको उद्घाटन कार्यक्रममा १ नं. प्रदेशका सभामुख प्रदीप भण्डारी, उद्योग पर्यटन तथा वन वातावरण मन्त्री जगदीश कुसियत, आन्तरीक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, धरान उपमहानगपालिकका मेयर तारा सुब्बा लगायतले महोत्सवको सफलताको कामना गरेका थिए ।
शुक्रबारदेखि धरानमा सुरु भएको प्रादेशिक महोत्सव ११ दिनसम्म चल्नेछ भने महोत्सवमा विभिन्न उद्योगी, व्यवसायी तथा कृषकहरुको स्टल रहनेछ । बेलुका भने महोत्सवमा विभिन्न ख्यातीप्राप्त कलाकारहरुको सांगितिक प्रस्तुती हुनुका साथै बालबालिकाको लागी मनोरञ्जनात्मक खेलहरु रहने आयोजकले जानकारी दिएको छ ।