काठमाडौं/ एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भइसकेको अवस्थामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि संसदमा छाया सरकार बनाउने तयारी गरेको छ ।
सरकारका कामकारवाहीमा विशेष तथा शसक्त निगरानी गर्नका लागि कांग्रेसले संसदमा छाया सरकार बनाउन लागेको हो ।
कांग्रेसले छाया सरकार गठनको खाका सहित प्रस्तावबारे विधानमा नै समावेश गरि संसदीय दलमा छलफल गरिरहेको छ । कांग्रेस संसदीय दलको बैठक सिंह दरबारमा चलिरहेको छ ।
संसदीय दलको बैठकमा प्रधानमन्त्रीको कामको निगरानी गर्न संसदीय दलका नेतालाई छाँया प्रधानमन्त्री बनाउने र केन्द्र सरकारमा रहेका मन्त्रीहरुकै संख्यामा मन्त्री पनि बनाउने तयारी भईरहेको नेता गगन थापाले जानकारी दिए ।
छाया प्रधानमन्त्री र मन्त्रीहरुले आ आफ्ना मन्त्रालय अन्र्तगत सरकारबाट भएका कामको कडा निगरानी गर्नेछन् । छाया सरकार गठन प्रदेश स्तरमा पनि गरिने नेता थापाले जानकारी दिए ।
अर्का नेता बालकृष्ण खाँडले संविधानको रक्षा गर्दै राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सम्बद्र्धनका लागि कांग्रेसले प्रतिनिधि र राष्ट्रिय दुवै सभामा शसक्त भुमिका निर्वाह गर्ने बताए ।
नेपाली काग्रेस संघीय संसदका दुवै सदन र प्रदेशसभामा पनि प्रमुख प्रतिपक्षी दल हो । यसअघि नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले पनि आफ्नो दलले स्थानीय तहबाट हुने भ्रष्टाचार रोक्न छायाँ सरकार चलाउने घोषणा गरेका थिए । शुक्रबार पार्टीको संघीय परिषदको चौथो बिस्तारित बैठकमा बोल्दै भट्टराईले यस्तो बताएका थिए ।
उनले भनेका थिए, ‘हामी स्थानीय तहमा हुने भ्रष्टाचार रोक्न छायाँ सरकार चलाउने अवधारणामा जान्छौं, र समृद्धिको पक्षमा माहोल बनाउन लागिपर्छौं ।’ वाम गठबन्धनको बहुमतको सरकार रहेको अवस्थामा दवावमा राख्नको लागि कांग्रेस र नयाँ शक्तिले छाया सरकारको अवधारणा ल्याएको बुझिएको छ ।