स्पेनिस ला लिगामा रियल मड्रिड विजयी भएको छ । क्रिष्टियानो रोनाल्डोले व्यक्तिगत २ गोल गर्दा रियल मड्रिडले डिपोर्टिभो एलभेसलाई ४–० ले हरायो ।

सान्टियागो बर्नाबाउमा भएको खेलमा रोनाल्डोले ४४ औं मिनेटमा गोलको खाता खोलेका थिए । दोस्रो हाफ सुरु भएको कही सेकेण्डमा नै ग्यारेथ बेलले गोल गर्दै घरेलु टिमलाई २ गोलको अग्रता दिलाए ।

रोनाल्डोले ६१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ३–० को स्थितीमा पुर्याए । खेलको ८९ औं मिनेटमा मड्रिडले पाएको पेनाल्टीलाई करिम बेन्जेमाले गोलमा परिणत गरेपछि रियलले ४–० को जित हात पारेको हो ।

सिजनको सुरुवातमा खराब प्रदर्शन गरेको रियल मड्रिडले यो जितसँगै शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी ११ मा झारेको छ । उसले चौथो स्थानको भ्यालेन्सियालई ५ अंकले पछि छोडेको छ ।