काठमाडौँ/ नेपाली कांग्रेसको संसदीय दलको नेता अन्ततः निर्वाचनबाट चयन हुने भएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौति दिँदै नेता प्रकाशमान सिंह मैदानमा उत्रिएपछि चुनावी प्रक्रियाबाट संसदीय दलको नेता चयन गर्न ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान बसेको केन्द्रीय कार्यसमिति बैठकले नेता चीनकाजी श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति बनाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार समितिमा नवीन्द्रराज जोशी र भीष्मराज आङदेम्बे सदस्य रहेका छन् । संसदीय दलको नेता चयनका लागि सम्भवतः फागुन १५ गते निर्वाचन हुनेछ ।
फागनु २१ गतेदेखि संघीय संसद्को बैठक बस्दैछ । त्यसअघि नै संसदीय दलको नेता चयन गरिसक्न कांग्रेस लागेको छ ।
बैठकले पार्टीको संसदीय दलको विधान पनि अनुमोदन गरेको छ । कांग्रेसबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदहरुको शनिबार बसेको संयुक्त बैठकले कांग्रेस संसदीय दलको विधान मस्यौदा सर्वसम्मतले पारित गरी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाएको थियो ।
स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन समीक्षाका लागि छिट्टै अर्को बैठक आव्हान गरिने प्रवक्ता शर्माले जनाए । उक्त बैठकमा चुनावमा कांग्रेसको हारको कारण गम्भीर छलफलबाट खोतलिने शर्माको दावी छ ।