पीएसजी र मार्सेलीबीचको खेलमा कीर्तिमानी ब्राजिलियन स्ट्राइकर नेइमार चोटग्रस्त भएका छन् । उनको गोलिगाँठोमा समस्या आएपछि उनलाई स्ट्रेचरमा राखेर उपचारमा लगिएको थियो । आइतबार राति पीएसजी र मार्सेलीबीच भएको खेलको अन्तिम १० मिनेटमा रहँदा नेइमार चोटग्रस्ता भएका थिए ।

नेइमार घाइते भएर मैदान बाहिरिएपछि पीएसजी १० खेलाडीमा समेटियो । यसका सब्सिच्यूड अप्सन पनि सकिसकेकाले नेइमारको स्थानमा पीएसजीले अर्को खेलाडी पठाउन पाएन । नेइमारको चोटको गहिराईबारे केही नबताइए पनि रियल मड्रिडबिरुद्धको खेलअघि नेइमार चोटग्रस्त हुनुले पीएसजीले ठूलो धक्का ब्यहोरेको छ ।

तर, फ्रान्सेली लिग लिडर पेरिस सेन्ट जर्मेइन पीएसजीले उपाधि यात्रा बलियो बनाउँदै ओलम्पिक मार्सेलीबिरुद्ध ३–० गोल अन्तरको जित निकालेको छ । आइतबार राति खेलको १० औं मिनेटमै घरेलु टोलीले अग्रता लिएको थियो । उसका लागि केलर एमबाप्पेले गोल गरेका थिए । २७ औं मिनेटमा मार्सेलीका डिफेण्डर जर्ज रोनाल्डोको आत्मघाती गोलमार्फत पीएसजीले अग्रता दोब्बर बनायो ।

दोस्रो हाफमा एडिसन काभानीले पीएफजीलाई ३–० गोलको जित सुनिश्चित गराए । उनले ५५ औं मिनेटमा नेइमारको पास सदुपयोग गरी गोल गरेका थिए । त्यसपछि खेलमा गोल हुन सकेन र पीएसजी विजयी भयो । खेलको अन्तिम १० मिनेटमा पीएसजीका १० जनामात्र खेलेको थियो ।

जितपछि पीएसजीले शीर्ष स्थानमा स्पष्ट १४ अंकको अग्रता बनाएको छ । दोस्रो स्थानको मोनाकोले शनिबार बराबरी खेलेको थियो । समान २७ खेलमा पीएसजीको ७१ र मोनाकोको ५७ अंक छ । तेस्रो स्थानको मार्सेलीको ५५ अंक छ ।