विराटनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले कतिपय कर्मचारी संयन्त्र र राजनीतिक नेतृत्वले गर्दा संघीयता कार्यान्वयनको चुनौति रहेको बताए । विराटनगरमा बुधबार मन्त्री आङ्बोले सञ्चारकर्मीसँग कुरा गर्दै संघीयता कार्यान्वयनलाई चुनौतिपूर्ण बनाउने प्रयास भइरहेको बताए । संघीयता मास्ने र त्यो नभएर त्यसको मर्मलाई मासेर विकेन्द्रीकरणको हैसियतमा मात्र त्यसलाई सिमिति गर्ने षड्यन्त्र अहिले पनि चलिरहेको मन्त्री आङ्बोले बताए । ‘अहिलेसम्मको राजनीतिक अनुभव र मन्त्री बनेपछिको बुझाईका आधारमा संघीयता मास्न कर्मचारी संयन्त्रको एउटा पंक्ति र राजनीतिक नेतृत्वको एउटा हिस्सा अहिले पनि प्रयासमा छ’ उनँले भने, ‘अहिले स्थानीय तह र प्रदेशमा विकेन्द्रित भएको अधिकारलाई केन्द्रमा फर्काउने प्रयास अहिले पनि छ ।’ मन्त्री आङ्बोले कर्मचारीले संघीयताको मर्म नबुझेको र दलहरुले पनि त्यसलाई गहिरोसँग आत्मसाथ गर्न नसकेको बताए । केन्द्रमा बसेर शासनमा हालीमुहाली चाहेकाहरुले संघीयता अझै स्वीकार नगरेको बताए ।उनले प्रदेश सरकारमा खटाईएका कर्मचारीहरु अहिलेसम्म नआउनुका कारण पनि त्यही रहेको बताए । आफ्नो मन्त्रालयले फागुन मसान्तबाट बजेट बनाउनुपर्ने भएपनि अहिलेसम्म आवश्यक कर्मचारी अभाबमा समस्या भइरहेको उनको भनाई थियो । मन्त्राललयमा विभिन्न विषयगत ५ जना उपसचिबले बजेटको तयारी गर्नुपर्नेमा उनीहरु अझै हाजिर नभएको उनले बताए । मन्त्रालयमा बजेट निर्माण गर्न योजना, बजेट, राजश्व र वित्तीय व्यवस्थापन हेर्ने उपसचिब अझै आइनसकेको उनले बताए ।