कपिलवस्तु । झट्ट पढ्दा यो विश्वास लाग्दैन । तर, एमालेले एक जना प्रदेश संसद यस्तै चयन गरेको छ । प्रहरी पनि अचम्ममा छ । ‘मोस्ट वान्टेड’ अपराधीलाई खोजिरहेको छ, उनकी तर श्रीमतीलाई चाहिँ सलाम गरिरहेको छ । हो, हामी कुरा गरिरहेका छौँ, एमालेले प्रदेश ५ मा समानुपातिकतर्फबाट संसद बनाएको फौजिय नसिमको ।
उनी पूर्णकालीन राजनीतिक कार्यकर्ता होइनन् । ‘मोस्ट वान्टेड’ पतिकै चाहना र राजनीतिक सम्पर्कमा उनले स्थानीय तहमा पनि टिकट पाएकी थिइन् । फौजिय नसिमले स्थानीय तहको निर्वाचना कपिलवस्तुको मायादेवी गाउँपालिका अध्यक्षमा एमालेबाट टिकट पाइन् । तर, चुनाव हारिन् ।
पत्नी स्थानीय तहको निर्वाचनमा पराजयपछि ‘मोस्ट वान्टेड’ पतिले फेरि अर्को राजनीतिक गोटी चाले । एमालेका जिल्ला नेताहरूसँग संवाद बढाए । त्यसै स्वरूप फौजिय नसिमको नाम प्रदेश सांसदका लागि सिफारिस भयो । उनी प्रदेश समानुपातिकमा मुस्लिम महिला कोटामा १ नम्बरमा सिफारिस भएकी थिइन् । सोहीअनुसार श्रीमती फौजिया प्रदेश सभासद बनिन् र शपथ पनि लिइन् ।
एमालेका एक जिल्ला नेताले यस्तो नाम सिफारिसमा ‘आर्थिक’ विषय पनि जोडिएको बताउँछन् । अब चाहिँ यी माननीयका ‘मोस्ट वान्टेड’ पतिको कथा जानौँ ।
‘मोस्ट वान्टेड’ नसिम खाँ को हुन् ? २०६१ सालमा माओवादीविरुद्ध प्रतिकार समितिको अगुवाइ गरेका नसिम खाँ ६ जनाको हत्याको मुख्य योजनाकारका रूपमा फरार अभियुक्त हुन् । माओवादी शान्ति प्रक्रियामा आएलगत्तै कपिलवस्तुको मायादेवी गाउँपालिका ४ पिपरा बस्ने नसिम खाँ (बादशाह) र उनका केही साथी तराई मुक्ति मोर्चाको नाममा भूमिगत भए । सशस्त्र समूह गठन गरेका पूर्वमाओवादी कार्यकर्ताको उक्त समूह पटक–पटक विभाजित भयो । एक वर्षपछि कौटिल्य शर्माको संयोजकत्वमा अर्को सशस्त्र समूह बन्यो ।
खाँ संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाको पश्चिम सैन्य कमान्डर बने । उनीसँगै माओवादी द्वन्द्वमा लागेका श्रवण नाउ उनका विशेष कार्यकर्ता भई सशस्त्र गतिविधिमा लागे । भारतीय भूमि प्रयोग गरी नेपालमा आपराधिक गतिविधि गर्दा उनले चन्दा आतङ्क, हतियार बेचविखन, अपहरण तथा ‘कन्ट्र्याक किलर’ हत्या गर्नेसम्मका काम थाले ।
नसिम कसरी भए ‘मोस्ट वान्टेड’ ? जनतान्त्रिक तराई मुक्ति मोर्चा पश्चिम सैन्य कमान्ड नसिमले माओवादी जिल्ला सदस्य प्र्रेम परियार (भुवन) को २०६३ साल फागुनमा तिर्तिखीमा गोली हानी हत्या गरेपछि उनी जिल्लामा एकाएक चर्चामा आएका थिए । लगत्तै उनीहरूको समूहले २०६४ मङ्सिर २५ गते जिल्ला विकास समितिका स्थानीय विकास कोष प्रमुख निरन्जन पौडेलको अपहरण गरे ।
करिब ४ लाख फिरौती लिएर उनीहरूले पौडेललाई ८ दिनपछि मुक्त गरेका थिए । चन्दा दिन नमानेको भन्दै तत्कालीन गाविस सचिव राममिलन गुप्तालाई नसिम खाँ र श्रवण मुराउले २०६५ साल भदौमा पिपरा गाविसमै गोली हानी हत्या गरेका थिए । नसिमको समूहले २०६६ सालमा तिर्तिखी गाविसमा माओवादी कार्यकर्ता नसिबुल्लाह मुसलमान माथि आक्रमण गर्दा स्थानीय सर्वसाधारण अकाली कोहारलाई गोली लाग्यो र उनको मृत्यु भयो ।
लगत्तै स्थानीय एमाओवादी अवध राज्यका युवा नेता राजेन्द्र तिवारीलाई उनकै योजनामा २०६७ वैशाख १३ गते पिपरा गाविसमै घेरा हाली हत्या गरे । हत्याको शृङ्खला बढे पनि पक्राउ नपरेका उनको समूहलाई राजेन्द्र तिवारीको हत्या प्रकरणपछि प्रहरीलाई पक्राउ गर्न ठूलो दबाब आयो । तत्कालीन प्रहरी प्रमुख शरद चन्दले जेलबाट भागेका श्रवण मुराउ र उनको खोजी तीव्र पारे । भारतीय प्रहरीको सहयोगमा मुराउलाई पक्राउ गरिए पनि नसिम भने बच्न सफल भए ।
नसिमको समूहले पुनः पुरुषोत्तमपुर ५ मा रहेको शिवम् क्रसरको मजदुर ज्ञानबहादुर सुनारलाई २०६७ असार २३ गते गोली हानी हत्या गरे । क्रसर मालिकले चन्दा नदिएको भन्दै उनको समूहले रूपन्देही पर्रोहाका सुनारको हत्या गरिएको विज्ञप्ती नसिमले खुलाए । लगत्तै उनी पुनः भारतको चाकरचौडा क्षेत्रमा बसेर आपराधिक गतिविधि सञ्चालन गरिरहेका थिए । कपिलवस्तु जिल्ला अदालतले २०६७ भदौमा हत्याको ६ वटा मुद्दा र एउटा डाकाँ मुद्दामा उनको अंश रोक्का गरी मुद्दा मुल्तबीमा राखेको छ ।
माथिका घटना अनुसन्धान गरेको प्रहरीको हरेक प्रतिवेदनमा नसिम खाँको संलग्नता र खाँ नै हत्या योजनाकार भएको प्रहरीको मिसिलमा उल्लेख छ । २०६३ चैतमै कपिलवस्तु जिल्ला अदालतले नसिमलाई पक्राउ गर्न निर्देशन दिएको थियो । उनका सहयोगी श्रवण मुराउलाई १ सय १७ वर्षको कैद सजाय तोकी हाल कारागारमा सजाय भुक्तान गरिरहेका छन् । सर्वाधिक खोजीका उनी चाकरचौडा सीमा पारि भारत बजारमा बस्दै अपराधिक गतिविधि सञ्चालन गर्दै आएका छन् ।
हत्या, फिरौती, अपहरण, लुटपाट, अवैध हतियार कारोबार र चन्दा आतङ्कलगायतका आपराधिक गतिविधिमा ‘मोस्ट वान्टेड’ नसिम खाँनको नाम जोडिएको छ ।
बालक अपरहण र हत्याको आरोप गत फागुन ४ मा अपहरण गरी ६ गते हत्या गरिएका बालक अयमानका परिवारले घटनामा संलग्न भएका ५ जना विरुद्ध जाहेरी दिए । त्यसमा ‘मोस्ट वान्टेड’ नसिम खाँनको नाम पनि थियो । यसले नसिम खाँनलाई मात्र होइन उनकी पत्नी एवम् प्रदेश सांसद फौजिय नसिमलाई पनि चर्चामा ल्याएको छ ।
फौजिय नसिम पहिला ‘मोस्ट वान्टेड’ नसिम खाँनको पत्नीमा सीमित थिइन् । अब उनी जनप्रतिनिधि भएकी छिन् । त्यसैले यहाँ ‘मोस्ट वान्टेड’ नसिम खाँको नाम आउनेवित्तिकै फौजिय नसिमको नाम पनि चर्चामा आउन थालेको छ । पीडित परिवारले नसिम खाँविरुद्ध अपहरण र हत्याको आरोप लगाएको छ ।
नसिम खाँसहित सगिर अहमद, समसिर अहमद, रियाज उर्फ गोले मुसलमान र जमिल मुसलमानविरुद्ध मृतकका पिता फत्ते मोहम्मदले जाहेरी दिएका हुन् । मायादेवी गाउँपालिका वडा नं.४ का वडा अध्यक्षसमेत रहेका फत्तेले नसिम नै अपहरण र हत्याको मुख्य योजनाकार भएको बताउँछन् ।