काठमाडौं । नेपाल औपचारिक रूपमा नेपाल आइतबार विश्वकप छनोट यात्रा सुरु गर्दैछ। केही साता अघिमात्र डिभिजन– २ मा सनसनीपूर्ण प्रदर्शन गर्दै विश्वकप छनोट यात्रा तय गरेको नेपाल अर्को उत्कृष्ट नतिजा निकाल्ने दाउमा छ। नेपाल आफ्नो पहिलो खेल आयोजक जिम्बाबेविरुद्ध खेल्दैछ। स्वाभाविक रूपमा जिम्बाबे नेपालभन्दा बलियो टिम हो।
जिम्बाबेविरुद्ध पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ। त्यसैले नेपालका लागि जिम्बाबे नौलो प्रतिद्वन्द्वीका रूपमा रहनेछ। त्यसो त नेपालभन्दा बढी दबाब जिम्बाबेमाथि छ। आयोजक र तुलनात्मक रूपमा कमजोर नेपालविरुद्ध विश्वकपमा स्थान बनाउन पनि जित्नैपर्ने दबाब जिम्बाबेसँग रहँदा नेपाल भने दबाबविनै मैदान उत्रिने छ। यसको फाइदा लिने सम्भावनाले गर्दा जिम्बाबेलाई हराउने चुनौती नेपालसँग छ। नेपालले दुईमध्ये एकमात्र अभ्यास खेल खेल्न पायो।
यूएईविरुद्धको पहिलो अभ्यास नेपालका लागि लाभदायक रह्यो। एकमहिनाको बिचमा दुई पटक यूएईलाई हराउँदै बलियो आत्मविश्वास कायम राख्न सफल भयो। वर्षाप्रभावित खेलमा युएईलाई ५ विकेटले पराजित गर्दा ललित भण्डारी चम्किएका थिए। उनले चार विकेटको सरप्राइज प्याकेज दिँदै अन्य टिमको टाउको दुखाइ बन्ने सम्भावना देखाए।
त्यसो त नेपाली स्पिनरहरु सबै टिमका लागि चुनौती छन्। नेपालको ब्याटिङ कमजोर भए पनि स्पिनरको बल नेपालको जितमा निर्णायक बन्ने पक्का छ। तर दोस्रो खेल भने वर्षाका कारण रद्द भयो। एक्सपोजका हिसाबले नेपाललाई घाटा देखिए पनि मनोबलका हिसाबले भने दोस्रो अभ्यास नभएपनि नेपाललाई घाटा भने भएको छैन। एक आफ्नै समूहको टिम तथा हङकङ चिरपरिचित प्रतिद्वन्द्वी भएकाले नेपाल हङकङलाई हराउने आत्माविश्वासमा भने कमी आउने छैन।
यस्तो छ जिम्बाबे
विश्वकप छनोट खेलको आयोजक जिम्बाबे प्रतियोगिताको मुख्य दाबेदार टिम हो। सन् १९९२ माने टेस्ट मान्यताप्राप्त गरेको जिम्बाबेले पछिल्लो समय गत डिसेम्बरमा दक्षिण अफ्रिका सँग टेस्ट खेलेको थियो। त्यसो त १९८३ यता लगतार विश्वकप यात्रा तय गरेकाले पनि जिम्बाबे यो पटक पनि आफ्नो सोही यात्रालाई निरन्तरता दिने दाउमा छ।
अभ्यासमा पनि जिम्बाबेले आफू बलियो रहेको सन्देश दिन सफल भएको थियो। पहिलो खेल वर्षाका कारण खेल्न नपाएपनि दोस्रो खेलमा जिम्बाबेले पपुवा न्युगिनीमाथि ५ विकेटको सहज जित निकाल्दै आफ्नो बलियो दाबेदारीको संकेत गरेको थियो। त्यसोत जिम्बाबे टेस्ट र एकदिवसीय खेलमा व्यस्त छ। पछिल्लो समय बंगलादेशसँग एकदिवसीय खेलेको जिम्बाबेले सिरिज हारे पनि आफ्नो प्रभाव छोड्न सफल भएको थियो, भलै पछिल्लो समय जिम्बाबेको खेल खस्किएको होस्।
बंगलादेशविरुद्ध सिरिज ४–१ ले गुमाए पनि निरन्तरको एक्सपोजले खारिएको जिम्बाबेका लागि नेपाल ‘सरप्राइज’ टिम हो। त्यसैले संयमित रूपमा मैदान उत्रिने पक्का छ। तर दबाबविनाको नेपालका लागि जिम्बाबे टेष्ट राष्ट्रका रूपमा भन्दा विश्वकप छनोट खेल्ने आफूसमानको टिमका रूपमा रहने भएकाले स्वभाविक प्रदर्शन गर्ने पक्का छ।
प्रतिद्वन्द्वीविरुद्ध खुलेर खेल्छौं:
पारस जिम्बाबे प्रस्थान गर्नुअघि नेपाली टिमका कप्तान पारस खड्काले विश्वकप छनोट हुन नै सबै टिम प्रतिस्पर्धा गर्ने भएकाले सबै टिमविरुद्ध शतप्रतिशत प्रयास हुने बताएका थिए। जिम्बाबेलाई हराउनै नसकिने टिमका रुपमा नलिएको र दाबेदार भएर नै छनोटमा पुगेको भन्दै उनले नेपालले आइतबार सरप्राइज दिनसक्ने टिमका रूपमा रहेको स्पष्ट पारे। त्यस्तै प्रशिक्षक जगत टमाटाले पनि खेलाडीहरुमा प्यासन रहेको र मेहेनत गरेका कारण जिम्बाबेविरुद्ध आत्मविश्वासी प्रदर्शन गर्ने बताए। नेपालले आफ्नो दोस्रो खेलमा फागुन २४ गते स्कटल्याण्डसँग, तेस्रो खेलमा फागुन २६ मा अफगानिस्तानसँग र चौथो तथा समूह चरणको अन्तिम खेलमा फागुन २८ मा हङकङसँग प्रतिस्पर्धा गर्नेछ । दुवै समूहका शीर्ष तीन स्थानमा रहने राष्ट्र सुपर सिक्स चरणमा प्रवेश गर्नेछन् ।