पाँचथर/ आगामी १४ चैतमा हुने तय भएको अखिल नेपाल फुटवल संघ (एन्फा) को केन्द्रीय महाधिवेशनमा जिल्ला फुटवल संघ पाँचथरले कर्मा छिरिङ शेर्पालाई समर्थन गर्ने भएको छ ।
सदरमुकाम फिदिममा आइतबार पत्रकार सम्मेलन गरेर संघले यसको जानकारी दिएको हो । जिल्ला फुटवल संघ पाँचथरबाट संघका सदस्य सुरेश शाहलाई प्रतिनिधि पठाएको छ । शाह एन्फा केन्द्रका मनोनित सदस्य हुन् ।
शाहले यसपल्ट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका छन् । यद्यपी शाहको प्रस्तावक र समर्थकमा भने संस्थापन पक्षबाट अध्यक्षमा उम्मेद्वार दिएका मणी कुँवर प्यानलका बिराटजंग शाही र सञ्जिव पाण्डे रहेका छन् । जिल्ला संघको माघ तीन गते बसेको बैठकले गरेको निर्णय अनुसार जिल्ला संघको कर्मा छिरिङलाई नै रहने अध्यक्ष सुजन नेम्बाङले पत्रकार सम्मेलनमा बताए ।