बिर्तामोड/ यसै सिजनदेखि पुलीस क्लबमा आवद्ध झापाली स्ट्राइकर रेजिन सुब्बाको एकमात्र गोलको मदतले नेपाल पुलीस क्लबले तेस्रो रमपम झापा गोल्डकपको क्वाटरफाइनलको यात्रा तय गरेको छ ।

खेलको एकमात्र निर्णायक गोलको लागि ८१ मिनेट पर्खनुपरेको थियो । ८१ औं मिनेटमा सुमन लामाको पासलाई सदुपयोग गर्दै सुब्बाले बललाई पोष्टको दिशा दिएका थिए । रुपन्देही ११ का गोलकिपर सोजित गुरुङ बिट भइसकेको अवस्थामा डि एरियामा अनमार्क रहेका सुब्बाले गोल गरेका थिए । पुलीसले जित निकाल्न कठिन सर्घष गर्नुपरेको थियो । उसका धेरै आक्रमण रुपन्देहीका डिफेन्डर आशिष गुरुङले बिफ पारेका थिए । उनका सामु अधिकांस समय पुलीसका स्ट्राइकर फिका सावित भएका थिए ।

खेलको १८ औं मिनेटमा पुलीसका सुमन लामाको प्रहार पोष्ट बारमा लागेर फर्किएको थियो । २५ औं मिनेटमा पुलीसका रेजिन सुब्बाले गोलकिपर बिट भइसकेपछि गरेको प्रहार रुपन्देहीका डिफेन्डर गौरब बुढाथोकीले गोललाइनबाट बचाएका थिए ।

५३ औं मिनेटमा रुपन्ेदेहीका निशान लिम्बुले गोल गर्न सकेनन् । उनले गोलकिपरमात्र भएको समयमा फितलो प्रहार गरेका थिए । ७२ औं मिनेटमा पुलीसका रबि पासवानको कढा प्रहार रुपन्देहीका गोलकिपर सोजीत गुरुङले पञ्च गरेका बाहिर फ्याकेका थिए ।

खेलपछि भएको पोष्ट म्याच कन्फ्रेन्समा बोल्दै पुलीसका प्रशिक्षक अनन्त थापाले नेपालकै स्तरीय र प्रतिष्ठित प्रतियोगिता भएकाले यसको महत्व भएकाले उपाधि रक्षा गर्ने रणनीति लिएको बताए । उनले खेलमा पाएका धेरै अवसर फ्रेममा नपर्दा स्कोर बढी हुन नसकेको बताए । आगामी खेलमा अझ सुधारिएको प्रदर्शन गर्ने उनले बताए । उनले डोमालाल रंगशाला उच्चस्तरीय भएको टिप्पणी गरे ।

पराजित टीमका प्रशिक्षक दयाराम सापकोटाले खप्तड गोल्डकपपछि आफ्ना खेलाडी रेष्टमा रहेको र पुलिससँगको खेलमा दोस्रो तहका खेलाडी उतारेका कारण सोचेजस्तो नतिजा प्राप्त नभएको बताए । उनले आफ्नो टीमका भरपर्दा खेलाडी दीपक राई घाइते भएका कारण पनि जित निकाल्न नसकेको बताए ।

खेलको म्यान अफ द म्याच बिजेता नेपाल पुलीस क्लबका सुमन लामा घोषित भए । उनले नगर २५ हजार रुपैंया पुरस्कार पाए । सोमबारको खेल शसस्त्र प्रहरीको एपीएफ क्लब र थ्री स्टार क्लब बीच हुने आयोजक समितिले जनाएको छ । गोल्डकपको विजेताले नगद १२ लाख ५१ हजार र ट्रफी पाउनेछ ।