पानवारी । प्रथम शहिद स्मृति क्रान्तिकारी कप फुटबल प्रतियोगितामा आइतबार भएको खेलमा धरान आदर्श कलेज, महेन्द्र क्याम्पस, विजयपुर स्कुल र वीरेन्द्र मेमोरियल कलेज विजयी भएका छन् ।
धरान–८ स्थित पूर्वाञ्चल क्याम्पसको खेल मैदानमा भइरहेको फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको पहिलो खेल ट्राइब्रेकरमा ५–३ गोल अन्तरले जित्दै धरान आदर्श कलेज क्वाटर फाइनलमा प्रवेश गरेको छ । धरान आदर्श र पब्लिक हाइ स्कुलबीच भएको खेल निर्धाचित समयमा २–२ गोलमा बराबरी भएपछि खेलको निर्णय ट्राइब्रेकरबाट लिइएको थियो । २–१ ले पछि परेको स्थितिमा धरान आदर्श अन्तिम मिनेटमा बराबरी गोल गर्दै खेलमा फर्किएको थियो । धरान आदर्शको तर्फबाट सोयस लिम्बू र अमोद माझिले गोल गरेका थिए भने पब्लिक हाइ स्कुलको तर्फबाट निश्चल लिम्बू । ओमकुमार लिम्बूले गोल गरेका थिए । ट्राइबे्रकरमा भने धरान आदर्शको तर्फबाट अमोद माझि, सागर शिवाकोटी, सोयस लिम्बू, ऋतेश निरौला र रेहान लिम्बूले गोल गरेका थिए । पब्लिकको तर्फबाट निश्चल लिम्बू, उज्वल राई र उपेन्द्र लिम्बूले मात्र ट्राइब्रेकरमा गोल गरे । विजयी धरान आदर्शले सेमिफाइनल प्रवेशका लागी महेन्द्र बहुमुखी क्याम्पसको ‘ए’ टिमसँग प्रतिष्पर्धा गर्नेछ ।
आइतबार भएको दोस्रो खेलमा धरान मल्टिपल क्याम्पसलाई २–० गोल अन्तरले पराजित गरी महेन्द्र बहुमुखी क्याम्पस ‘ए’ टिम क्वाटर फाइनलमा प्रवेश गरेको छ । महेन्द्रको तर्फबाट दुवै गोल अनिस राईले गरेका थिए । अब सेमिफाइनल प्रवेशका लागी धरान आदर्श कलेजसँग प्रतिष्पर्धा गर्नेछ ।
आइतबार भएको पहिलो क्वाटर फाइनल खेल जित्दै विजयपुर स्कुल सेमिफाइनल प्रवेश गरेको छ । विजयपुरले डिपोट क्याम्पसलाई १–० गोल अन्तरले पराजित गरेको हो । पूर्वाञ्चल क्याम्पसको खेल मैदानमा भएको खेलमा विजयपुरका लागी एकमात्र गोल निमेश शाहीले गरेका थिए ।
आइतबार भएको अन्तिम क्वाटर फाइनल खेलमा वीरेन्द्र मेमोरियल कलेजले इटहरीको जनता बहुमुखी क्याम्पसलाई १–० गोल अन्तरले पराजित गरी सेमिफाइन प्रवेश गरेको छ । वीरेन्द्रका लागी सन्देश लिम्बूले विजयी गोल गरेका थिए ।
सोमबार (आज) महेन्द्र बहुमुखी क्याम्पस बी टिमले धरान सिटी कलेजसँग र महेन्द्र बहुमुखी क्याम्पसकै ए टीमले धरान आदर्श कलेजसँग सेमिफाइनल प्रवेशका लागी प्रतिष्पर्धा गर्ने आयोजकले जानकारी दिएको छ । सुनसरीका विभिन्न २५ टिमको सहभागिता रहेको प्रतियोगिता फागुन १५ गतेदेखि सुरु भएको थियो भने फाइनल खेल २५ गते हुनेछ भने प्रतियोगिताको विजेताले ३० हजार नगदका साथै ट्रफि जित्नेछ भने उपविजेताले नगद रु २० हजार सहित ट्रफि जित्नेछ । त्यस्तै प्रतियोगिताका विद्यागत उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिने आयोजकले जानकारी दिएको छ ।