पानवारी । प्रथम शहिद स्मृति क्रान्तिकारी कप फुटबल प्रतियोगितामा सोमबार भएको खेलमा विजयी हुदै धरान सिटी कलेज र महेन्द्र बहुमुखी क्याम्पस सेमिफाइनलमा प्रवेश गरेको छ । धरान–८ स्थित पूर्वाञ्चल क्याम्पसको खेल मैदानमा भइरहेको फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा महेन्द्र बहुमुखी क्याम्पसको बी टीमलाई ट्राइब्रेकरमा ३–१ गोल अन्तरले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयको खेल गोल रहित बराबरी भएपछि ट्राइब्रेकरबाट निर्णय लिइएको थियो । ट्राइब्रेकरमा धरान सिटी कलेजका तर्फबाट सन्तोष लिम्बू, जलन सुब्बा र आशिष शाहले गोल गरे भने अनुप लिम्बूको प्रहार विपक्षी गोल किपर डगेन्द्र लिम्बूले बचाएका थिए । त्यस्तै महेन्द्र क्याम्पसको तर्फबाट अभिनय राईले मात्र गोल गर्न सफल भए भने सूर्य लिम्बूले प्रहार गरेको बल पोष्ट बाहिर गएको थियो । त्यस्तै अनुप लिम्बू र विनोद लिम्बूको प्रहार विपक्षि गोल किपर किरण मगरले रोकेका थिए । त्यस्तै सोमबार भएको अन्तिम क्वाटर फाइनल खेल जित्दै महेन्द्र बहुमुखी क्याम्पस ए टीम सेमिफाइलन पुगेको छ । महेन्द्रले धरान आदर्श कलेजलाई १–० गोल अन्तरले पराजित गरेको हो । महेन्द्रका तर्फबाट विपिन राईले गोल गरेका थिए । आज –मंगलबार) धरान सिटी कलेज विरुद्ध विजयपुर स्कुल र महेन्द्र क्याम्पस ए टीम विरुद्ध वीरेन्द्र मेमोरियल क्याम्पस फाइनल प्रवेशका लागी भिड्ने आयोजकले जानकारी दिएको छ । सुनसरीका विभिन्न २५ टिमको सहभागिता रहेको प्रतियोगिता फागुन १५ गतेदेखि सुरु भएको थियो भने फाइनल खेल २५ गते हुनेछ भने प्रतियोगिताको विजेताले ३० हजार नगदका साथै ट्रफि जित्नेछ भने उपविजेताले नगद रु २० हजार सहित ट्रफि जित्नेछ । त्यस्तै प्रतियोगिताका विद्यागत उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिने आयोजकले जानकारी दिएको छ ।