पानवारी । प्रथम शहिद स्मृति क्रान्तिकारी कप फुटबल प्रतियोगितामा मंगलमबार भएको सेमिफाइनल खेलमा विजयी हुदै धरान सिटी कलेज र महेन्द्र बहुमुखी क्याम्पस फाइनलमा प्रवेश गरेका छन् ।
धरान–८ स्थित पूर्वाञ्चल क्याम्पसको खेल मैदानमा भइरहेको फुटबल प्रतियोगितामा विजयपुर माविलाई १–० गोल अन्तरले पराजित गरी फाइनल प्रवेश गरेको छ । धरान सिटी कलेजको तर्फबाट निशान तुम्बाहाम्फेले गोल गरी टीमलाई जित दिलाएका हुन् ।
त्यस्तै गरी मंगलबार नै भएको दोस्रो सेमिफाइनल खेलमा महेन्द्र बहुमुखि क्याम्पसले सडन डेथमा विरेन्द्र मेमोरियल कलेजलाई पराजित गरी फाइनल प्रवेश गरेको छ । निर्धारित समय गोल रहित बराबरीमा सकिएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । ट्राइब्रेकरमा पनि दुवै टिम ४–४ गोलको बराबरी भएपछि सडन डेथमा महेन्द्रले बाजि मारेको हो । ट्राइब्रेकरमा महेन्द्रको तर्फबाट संगम राई, रविन राई, पदम विष्ट र सुजन श्रेष्ठले गोल गरे भने टाइसन लिम्बूले गोल गर्न सकेनन् । त्यस्तै गरी वीरेन्द्र मेमोरियलको तर्फबाट आङदावा शेर्पा, मनिष अधिकारी, दिपेश गुरुङ र विशाल राईले गोल गरे भने सन्देश लिम्बूले गोल गर्न सकेनन् । सडन डेथमा भने महेन्द्रको तर्फबाट राम तामाङले गोल गरे भने विरेन्द्र मेमोरियलका अनित लिम्बू गोल गर्न चुक्दा पराजित हुन पुगेको थियो ।
सुनसरीका विभिन्न २५ टिमको सहभागिता रहेको प्रतियोगिता फागुन १५ गतेदेखि सुरु भएको थियो भने फाइनल खेल २५ गते हुनेछ भने प्रतियोगिताको विजेताले ३० हजार नगदका साथै ट्रफि जित्नेछ भने उपविजेताले नगद रु २० हजार सहित ट्रफि जित्नेछ । त्यस्तै प्रतियोगिताका विद्यागत उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिने आयोजकले जानकारी दिएको छ ।