काठमाडौं/ राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा)ले कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीलाई तत्काल रिहा गरी शपथ लिने वातावरण बनाउन रामबहादुर थापा बादललाई आग्रह गरेको छ ।
कैलाली कारागारमै अनशनरत चौधरीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि बिहीबार गृहमन्त्रीलाई भेटेर राजपा नेताहरूले यस्तो आग्रह गरेका हुन् ।
सो क्रममा गृहमन्त्री थापाले के गर्दा राम्रो हुन्छ भन्ने जिज्ञासा राखेका थिए । राजपा नेताहरूले सरकारले चासो लिएर समस्या समाधान गर्न आग्रह गरे । चौधरीलाई शपथबाट वञ्चित नगराउन उनीहरूको आग्रह थियो । जवाफमा गृहमन्त्री थापाले प्रधानमन्त्रीसँग छलफल गर्ने आश्वासन दिएका छन् ।
टीकापुर घटनाका मुख्य आरोपी चौधरीलाई कैलाली जिल्ला अदालतले केही दिनअगाडि पुर्पक्षका लागि जेल चलान गरेको थियो । चौधरी राजपाकोतर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । उनले निर्वाचन आयोगबाट जितको प्रमाणपत्र लिनसमेत पाएका छैनन् ।