विराटनगर/ पाँचौ संस्करणको विराट गोल्डकप रातिको समयमा हुने भएको छ । यही चैत १७ देखि २६ गतेसम्म विराटनगरको सहिद रङ्गशालमा हुने गोल्डकप रातिको समयमा हुन लागेको हो ।
यस वर्षको गोल्डकप रातीको समयमा गर्ने भएकोले आयोजकले तयारी तिव्र गतिमा गर्दै आएको विराट गोल्ड कप आयोजक समितिका अध्यक्ष नविन रिजालले जानकारी दिए । आयोजक समितिले विराटनगरमा आइतबार पत्रकार सम्मेलन गर्दै मोफसलमा पहिलो पटक रात्रिकालीन विराट गोल्ड कप प्रतियोगिता हुन लागेको जानकारी दिइयो ।
‘यस अघि हुने गोल्डकपहरु दिउँसो हुँदै आएको थियो,’ गोल्ड कप आयोजक समितिका अध्यक्ष रिजालले भने, ‘सबैलाई सहज हुने र फरकपन दिन रात्रिकालिन गोल्डकप गर्न लागेको हो । त्यसका लागि प्रतियोगिता आयोजना स्थल सहिद रंगशाला वरपर ६ वटा बत्ती जडान गर्दै पर्याप्त मात्रमा लाइटको व्यवस्था गरिने छ ।’ प्रतियोगिताको उद्धघाटनका दिन ५ः३० बजेदेखि र त्यसपछि प्रत्येक दिन ६ बजेपछि खेल खेलाइने आयोजकको भनाई छ ।
दिवाकालीन समयमा मात्रै प्रतियोगिता आयोजना गर्दा दर्शकको साथ त्यति नपाइएको विगतलाई हेरेर दर्शक आकर्षित गर्न आयोजकले यस वर्ष नयाँ उपाय लगाएको बताइएको छ । ‘विद्यार्थी, कर्मचारी, व्यवसायी, लगायत सबै पेशाकर्मीलाई समय व्यवस्थापन गर्न सजिलो होस र प्रतियोगिता रोमाञ्चक बनोस भनेर रात्रिकालिन खेल आयोजनाको जमर्को गरिएको हो,’ अध्यक्ष रिजालले भने, ‘दर्शकलाई मनोरञ्जन प्रदान गर्ने, फुटबल प्रतिको आकर्षण बढाउने, नेपाली खेलाडीलाई अन्तराष्ट्रिय स्तरमा पहिचान गराउनु मुख्य उदेश्य हो ।’
विभिन्न प्राविधिक कारण देखाउँदै गत वर्ष भने विराट गोल्डकप हुन सकेन । यस वर्ष ‘विराटनगरको साथ, फुटबलको विकास’ भन्ने मूल नारा दिएर गोल्डकप आयोजना गर्न लागिएको छ । गोल्डकपको विजेताले नगद १२ लाख ७१ हजार र उपविजेताले पाँच लाख ५१ हजार रुपैयाँ नगद राशिको पुरस्कार प्राप्त गर्ने छन् । प्रत्येक दिनको खेलमा म्यान अफ दी म्याच हुने खेलाडीलाई १० हजार रुपैयाँ नगद र शील्ड प्रदान गरिने छ ।
म्यान अफ दी टुर्नामेन्ट हुने खेलाडीले मोटरसाइकल पाउने छन् । अध्यक्ष रिजालका अनुसार उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, मिड फिल्डर, डिफेन्स, फरवार्ड, टिम व्यवस्थापक एवं सर्वाधिक गोलकर्ता र टिम मध्येका उत्कृष्ट सबैलाई २५÷२५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । सहभागी सबै टिमलाई प्रोत्साहन पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
गोल्डकपमा भुटानको थिम्पु फुटबल क्लब र बंगलादेशको बंगलादेश स्पोर्टिङ क्लबले भाग लिने छन् । भारतको सिक्किम युनाइटेड वा मोहमडन स्पोर्टिङ क्लब मध्ये एउटाले सहभागिता जनाउने छ । नेपालका मनाङ मस्र्याङदी क्लब, सशस्त्र प्रहरी वल, थ्री स्टार, नेपाल पुलिस क्बल, नेपाल आर्मी, रमपम झापा ११ र आयोजक रिजालको मोरङ ११ गरेर सातवटा टिमको सहभागिता रहनेछ ।
प्रत्येक दिनको खेलहरु हेर्न चाहने दर्शकलाई दैनिक टिकटको अलावा एक हजार पाँच सय रुपैयाँको सिजनल टिकटको समेत व्यवस्था आयोजकले गरेको छ । प्रतियोगितामा एक करोड तीन लाख रुपैयाँ आम्दानी र एक करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ । २०१८ सालबाट महेन्द्र गोल्डकपका नाममा संचालित यो प्रतियोगिताको नाम २०६७ सालदेखि भने परिवर्तन गरेर विराट गोल्डकप बनाइएको थियो । २०६८, ०६९, ०७१ र ०७२ सालमा भने विराट गोल्डकपका नाममा प्रतियोगिता संचालन हुँदै आएको छ । २०७२ सालको प्रतियोगिताको उपाधि भने नेपाल पुलिसको जितेको थियो ।