काँधमा भार राखेर उठबस गर्ने प्रतिस्पर्धा स्क्वाट हो । यस खेल (व्यायाम) ले सम्पूर्ण शरीरलाई चालयमान बनाउँछ । अझै विशेषगरी कम्मरदेखि तलको भागमा बढी भार पर्छ । भारोत्तोलनजस्तै बल प्रयोग गरी भार उठाउने अन्य खेल स्क्वाट, डेडलिफ्ट र क्लिन्स हुन् ।

आधिकारिक रूपमा यसले खेलले मान्यता पाएको छैन । मान्यता नपाए पनि तीन वर्षदेखि अन्तरक्लब महिला स्क्वाटको प्रतिस्पर्धात्मक प्रतियोगिता भइरहेको छ । यसको सुरुवात ज्यास्मिन फिटनेस सेन्टरका निरोज लामाले गरेका थिए ।

महिला सशक्तीकरणमा सहयोग पुर्याउन सुरु गरिएको यस प्रतियोगिताको तेस्रो संस्करण हालै (अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा) आयोजना भएको थियो । ‘पछिल्लो समय यो खेलको लोकप्रियता बढ्दो छ,’ निरोज लामाले भने, ‘राजधानीमा मात्र केन्द्रित भनिएको यस खेलमा यस पटक राजधानी बाहिरका तीन क्लब सहभागी भए ।’

उपत्यका बाहिरका प्रतिस्पर्धीको प्रदर्शनसमेत उल्लेख्य रह्यो । ६० केजीमुनि तौल विधामा पोखरा रानीपौवा स्पोट्र्स क्लबकी ज्योति थापा र ६० केजीमाथि धरान एनिटाइम स्पोर्टस क्लबकी अन्जना राईले तेस्रो स्थान पाएका थिए ।

प्रतियोगितामा राजधानीका ७ र राजधानी बाहिरका ३ गरी १० क्लब सहभागी थिए । प्रतियोगिताको पहिलो चरणमा खेलाडीहरूले निर्णायकले दिएको तौल उठाएका थिए भने फाइनल चरणमा प्रतियोगीले चाहेको तौल उठाएका थिए ।

पूर्वबाट पहिलो पटक यस प्रतियोगतामा सहभागिता जनाएकी अञ्जना राईले पहिलो सहभागीतामै तेस्रो भएकी छन् । ‘मलाई सुरुआती दिनमा आमाले जिम नजाऊ, छोरी मान्छेलाई त्यस्तो सुहाउँदैन भन्नु हुन्थ्यो,’ अञ्जनाले भनिन्, ‘फिटनेसको रुपमा यो खेल सुरु गरे पनि प्रतियोगितामा भाग लिएको कुरा दिदी र मामालाई मात्र भनेकी थिएँ ।’ डेढ महिनाको तयारीपछि प्रतियोगितामा सहभागी अञ्जनाले पहिलो चरणमा १ सय केजी तौल उठाइन् । दोस्रो चरणमा १ सय २३ केजी उठाउने प्रयास भने सफल भएन तर तेस्रो चरणमा १ सय २३ तौल केजी उठाउँदै उनले तेस्रो स्थान पक्का गरिन् ।