काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा स्पिनर सन्दीप लामिछाने यतिबेला इन्डियन प्रिमियरको बन्द प्रशिक्षणका लागि दिल्लीमा रहेका छन् । विश्वका उत्कृष्ट खेलाडी रहेका दिल्लीको बन्द प्रशिक्षणमा सन्दीपले आफ्नो प्रभाव टिममा देखाउन सुरु गरेका छन् ।
युवा लेग स्पिनर सन्दीप दिल्ली पुगेपछि उनका बारेमा दिल्ली डेयरडेभिल्सले विभिन्न ट्विट्सहरु गर्दै आएको छ । यसैबीचमा दिल्लीका प्रशिक्षक रिकी पोन्टिङले पनि सन्दीपका बारेमा प्रशंसा गरेका छन् । पोन्टिङले सन्दीपमा धेरै प्रतिभा रहेको बताउँदै उनी साच्चिकै राम्रा खेलाडी रहेको बताएका छन् ।
दिल्लीको बन्द प्रशिक्षणमा बिहीबारमात्र सामेल भएका पोन्टिङले सन्दीपको बलिङलाई नजिकबाट नियालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आईपिएलमा सन्दिपले खेल्न पाउछन् कि पाउँदैनन् भन्ने कोतुहलता बढीरहेका बेला पोन्टिङको भनाइले उनी प्लेइङ ११ मा पर्नसक्ने संकेत देखिएको छ ।
यता सन्दीपले दिल्ली पुगेपछि सिनियर स्पिनर अमित मिश्राको बारेमा बारम्बार तारिफयोग्य भनाई राख्दै आएका छन् । अप्रिल ४ तारिखदेखि सुरु हुने आइपीएलका लागि दिल्ली यतिबेला फिरोज शाह कोट्ला मैदानमा बन्द प्रशिक्षणमा रहेको छ । जुन उसको होम ग्राउण्ड पनि हो ।