विराटनगर/ विराटनगरको इतिहास र गौरवसँग जोडिएको विराट गोल्डकप फुटबल प्रतियोगिता शनिबारबाट सुरु हुँदैछ। मोफसलमा पहिलोपटक आयोजना हुने दिवा रात्रि (डेनाइट) प्रतियोगिताका सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। प्रदेश १ को अस्थायी मुकाम घोषणा गरिएपछि ऐतिहासिक, राजनीतिक र औद्योगिक सहर विराटनगरमा विराट गोल्डकप सबैभन्दा ठूलो खेल प्रतियोगिता हो।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रतियोगिताको उद्घाटन गर्नेछन्। उद्घाटन खेल भुटानको थिम्पु फुटबल क्लब र आयोजक रिजालको मोरङ-११ बीच हुनेछ। चैत २६ सम्म हुने प्रतियोगिताको उद्घाटनमा यू-१२ का ५० खेलाडीसँग सिनियर खेलाडीले प्रदर्शन खेल खेल्ने आयोजक समितिका अध्यक्ष नवीन रिजालले जानकारी दिए।

दिवा र रात्रिकालीन समयमा खेलाइने प्रतियोगितामा विदेशी दुईसहित १० टोलीको सहभागिता रहनेछ। प्रतियोगितामा बंगलादेश स्पोर्टिङ क्लब र भारतको सिक्किम युनाइटेड भने नआउने भएका छन्। भारतको मोहम्डन स्पोर्टिङ क्लब र भुटानको थिम्पु फुटबल क्लबले सहभागिता जनाउनेछन्। नेपालका तीन विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी र एपीएफ, मनाङ मस्र्याङ्दी, संकटा, थ्रीस्टार, झापा-११ र आयोजक रिजालको मोरङ-११ ले प्रतिस्पर्धा गर्नेछन्।

चैतको गर्मी र हावाहुरी छल्न रात्रिकालीन म्याच खेलाउन लागिएको हो। राति खेलाउँदा दर्शकबाट पनि भरपूर साथ पाउने अपेक्षा आयोजकको छ। प्रतियोगिताका लागि ३५ लाख रुपैयाँ खर्च गरेर ६ वटा फ्लड लाइट जडान गरिएको छ। महिला दर्शकका लागि छुट्टै प्यारापिटको व्यवस्था गरिएको छ।

प्रतियोगिताको विजेताले १२ लाख ७१ हजार र उपविजेताले पाँच लाख ५१ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। प्रत्येक खेलको म्यान अफ दी म्याचले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। प्रत्येक दिनको खेल हेर्न चाहने दर्शकलाई दैनिक टिकटका अलावा एक हजार पाँच सय रुपैयाँको सिजनल टिकटको समेत व्यवस्था गरिएको छ। सिजनल टिकट लिने दर्शकले पूरै खेल हेर्न पाउनेछन्।

अन्नपूर्णपाेष्टबाट