विराटनगर/ रमपम झापा ११ लाई निराश पार्दै विभागीय टिम नेपाल आर्मी क्लब पाँचौ विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

विराटनगरको सहिद रङगशालमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा झापा ११ लाई १–० गोल अन्तरले पराजित गरी नेपाल आर्मी फाइनलमा प्रवेश गरेको हो ।

जितसँगै आर्मीले आज शनिबार हुने दोस्रो सेमिफाइनल खेल संकटा क्बल र थ्रि स्टार बिच हुने बिजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

निकै रोमान्चक भएको खेलमा पहिलो हाफसम्म दुवै टिम निकै आक्रमक रुपमा मैदान उत्रियो । दुवै टिमले गोल गर्ने मौका पाएपनि खेलको पहिलो हाफसम्म गोल रहित खेल बराबरी भयो । दोस्रो हाफदेखी झापालाई दबाबमा राखेको आर्मीले गोल गर्न ६९ औ मिनेट कुर्नुपर्यो । आर्मीका विमल पाण्डेले सुन्दर गोल गरी टिमको जित सुनिश्चत गरे । उनले गरेको गोल नै टिमको जितको लागि निर्णायक बन्यो । आर्मीका क्याप्टेन भरत खवासको कर्नर प्रहारलाई सदुपयोग गर्दै पाण्डेले जाली चुमाएका हुन् ।

जीतसँगै आर्मीले २०७१ सालमा भएको तेस्रो विराट गोल्डकपमा झापा ११ सँग भोगेको पराजयको बदलापनि लिएको छ । विराट गोल्डकपको तेस्रो संस्करणमा आर्मी र झापा ११ ले उपाधिकालागि प्रतिस्पर्धा गरेका थिए । तेस्रो संस्करणमा २–१ ले नतिजा सुम्पिएको आर्मीले पाचौ संस्करणमा ०–१ गोल गर्दै बदला लिएको हो ।

खेलको सुरुवाती अवस्था देखि नै आर्मी माथी हाबी भएको झापाले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेन् । खेल सुरु भएको नौ मिनेटमा झापाका विश्वास श्रेष्ठले डिबक्स भित्रबाट गरेको प्रहार आर्मीका गोल रक्षक विकेस कुथुले रोकेका थिए । पहिलो हाफको ३४ औ मिनेटमा झापाका माइकलले डिबक्स भित्रबाट हानेको प्रहार बाहिरिएको थियो । दोस्रो हाफको ११ मिनेट झापाकालागि माइकलले गरेको प्रहार आर्मीका गोल रक्षक पृथुले उत्कृष्ट बचाए ।

झापाका खेलाडीहरुले सुन्दर गोल गर्ने अवसरहरु चुकाउँदा झापा गोल्डकपको फाइनलमा आर्मीसँग हारेको बदला लिनबाट चुक्यो । झापाले गोल खाएपछि दबाब पाएको खेलाडीहरुले गोल गर्न नसक्दा खेल बराबरीमा ल्याउनबाट बन्चित भयो ।

खेलको म्यान अफ द म्याच आर्मीका भरत खवास घोषित भइ उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल संकटा क्लब र थ्री स्टार क्बल बिच हुने आयोजक समितिले जनाएको छ ।

म्यान अफ द म्याच हुने आर्मीका कप्तान भरत खवासलाई पुरस्कार वितरण गर्दै सामाजिक विकास मन्त्री जीवन घिमिरे ।