नयाँदिल्ली । इन्डियन पिमियर लीग (आईपीएल)को ११ औं संस्करणमा चेन्नई सुपरकिंग्सले साविक विजेता मुम्बई इन्डियन्सलाई हराएको छ ।
मुम्बईको वानखेडे मैदानमा चेन्नईले १ बल बाँकी छँदा १ विकेटको रोमान्चक जित हासिल गर्यो । चेन्नईको जितमा ड्वेन ब्राभो नायक बने । ब्राभोले विष्फोटक व्याटिङ गर्दै ३० बलमा ६८ रन योगदान गरे ।
मुम्बई इन्डियन्सले चेन्नईलाई १६६ रनको लक्ष्य दिएको थियो । तर, चेन्नईको सुरुआत खराब रह्यो ।
सुरुआती ५० रन बनाउँदा नै चेन्नईले चार विकेट गुमाइसकेको थियो । पवेलियन फर्किनेहरुमा कप्तान महेन्द्र सिंह धोनी, सुरेश रैना जस्ता महत्वपूर्ण व्याट्सम्यानहरु थिए ।
त्यसपछि पनि चेन्नईको विकेट निरन्तर झरिरह्यो । १७ औं ओवरसम्म चेन्नईले लगभग आफ्नो पकड गुमाइसकेको थियो । चेन्नईले जित्ने आश सबैले मारिसकेका थिए । उता मुम्बईका खेलाडी र समर्थकहरु आफूहरुको जित हुनेमा विश्वस्त देखिन्थे ।
तर मुम्बईको जित र चेन्नईको हारको बीचमा ब्राभो खडा भए । उनले १८ औं र १९ औं ओभरमा मैदानको चौरतिर यस्ता ह्वाइट शट खेलेकि अचानक खेलको माहोल बदलियो ।
१७ औं ओभरसम्म ११८ रनको स्कोरमा ८ विकेट गुमाइसकेको चेन्नईले १९ औं ओभरसम्म आइपुग्दा १५९ रन बनाउन सफल भयो । अब चेन्नईलाई ७ बलमा ७ रन आवश्यक थियो । त्यही बेला ब्राभो ह्वाइट शट खेल्ने क्रममा क्याच आउट भए । ब्राभोले आफ्नो पारीमा तीन चौका र सात छक्का प्रहार गरे ।
यसपछि रिटायर्ड हर्ट भएर पेवेलियनमा बसेका केदार जाधव मैदान छिरे र अन्तिम ओभरको चौथो बलमा छक्का र फेरि पाँचौ बलमा चौका हाने । केदारले नै १ विकेटको जित चेन्नईको पोल्टामा हालिदिए । उनले २२ बलमा २४ रनको महत्वपूर्ण पारी खेले ।
मुम्बईको तर्फबाट हार्दिक पाण्ड्या र मयंक मरकन्डेले तीन-तीन विकेट लिए ।
२० वर्षको लेगब्रेक बलर मयंकले हालसम्म प्रथम श्रेणीको खेल खेलेका छैनन् । यो आईपीएल उनको पहिलो म्याच हो तर तीन विकेट झारेर उनले आफ्नो कुशल खेल प्रदर्शन गरे । मयंकले अंबाति रायडु, महेन्द्र सिंह धोनी र दीपक चाहरलाई आउट गरेका थिए ।
मुम्बई इन्डियन्सको व्याटिङ
चेन्नईविरुद्धको खेलमा मुम्बईले टस हारेर व्याटिङ सुरु गरेको थियो । मुम्बईको सुरुवात पनि खराब रह्यो । ओपनर एविन लुईस खाता खोल्न नपाई आउट भए । कप्तान रोहित शर्मा पनि १८ बलमा केबल १५ रन बनाएर पेवेलियन फर्किए ।
२० रनमा दुई विकेट गुमाएपछि इशान किसन र सूर्यकुमार यादवले मुम्बईको पारी सम्हाले । दुबै मिलेर १ सय रनको योगफल खडा गरे ।
सूर्यकुमारले २९ बलमा ४३ र इशानले पनि २९ बलमै ४० रन बनाए ।
अन्तिम ओभरमा पान्ड्या भाइले आफ्नो बलमा कमाल देखाए । कुणाल पान्ड्याले २२ बलमा अविजित ४१ रन बनाए भने हार्दिक पान्ड्याले २० बलमा २२ रन बनाए ।
यसरी मुम्बईले निर्धारित २० ओभरको खेलमा ४ विकेटको क्षतिमा १६५ रनको स्कोर खडा गरेको थियो ।
चेन्नईको तर्फबाट शेन वाटसनले दुई तथा इमारान ताहिर र दीपक चाहरले एक-एक विकेट लिएका थिए ।