शनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगरवासीको स्वास्थ्यका क्षेत्रमा एकपछि अर्काे गर्दै राहतका कार्यक्रम ल्याउने क्रममा पछिल्लो पटक ५ वटा जटिल रोगका विरामीको उपचारमा समेत महत्वपूर्ण निर्णय गरेको छ ।

दैनिक वैठककै चटारो रहेको नगर कार्यपालिकाको शुक्रवार दिउँसोको शत्रको वैठकले नगर क्षेत्रमा रहेका मुटु, क्यान्सर, मृगौला, बोनम्यारो र स्पाइनल कर्ड इन्जुरी भएका विरामीको उपचारका लागि आउँदो आर्थिक वर्षबाट जनही १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको नगर प्रमुख दिलीपकुमार राईले जनाए । अनुदान तथा आर्थिक सहायता कार्यविधि पारित गर्दै सो कार्यविधिमा त्यस्तो प्रावधान उल्लेख गरिएको उहाँले उल्लेख गरे ।

वैठकले, छात्रबृत्ती अनुदान तथा ऐनले एफएम रेडियोहरु नगरपालिकाले दर्ता गर्ने प्रावधान ल्याए अनुरुप एफएम रेडियो दर्ता गर्ने विषयमा पनि निर्णय गरेको छ ।

नगरपालिकाले यसअघि स्वास्थ्यको क्षेत्रलाई महत्व दिँदै ८० वर्षमाथिका ज्येष्ठहरुका लागि घर घरमा गएर चेकजाँच, ७० वर्षमाथिकालाई १ नम्वर प्रदेशभित्र उपचारका लागि जान निशुल्क एम्वुलेन्स सेवा उललब्ध गराउने कार्यक्रम लागू गरिसकेको थियो ।

वैशाख १७ गते हुने नगरसभाको सन्दर्भमा नीति तथा कार्यक्रम निर्माणका क्रममा वैशाख ११ गतेदेखि दैनिक रुपमा विहान र बेलुका बैठक बसेर कार्यविधि पारित गर्ने काम भइरहेको प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए ।