इटहरी/ सुनसरीको सिमावर्ती आसपासको क्षेत्रमा मदिराजन्य पदार्थ बेच्न नपाईने भएको छ । भारतको विहारमा भारत सरकारले मदिरा बन्द गरे सँगै नपाली सिमावर्ती बजारमा मदिरा खान आउँने भारतीयहरुको कारण चोरी तथा डकैती बढेको भन्दै सिमा क्षेत्रको पाँच सय मिटर आसपासको क्षेत्रमा मदिरा बेच्न निषेध गरीएको हो ।

नेपाल–भारतका सुरक्षा अधिकारीबीच हुने हरेक बैठकमा भारतले रक्सी प्रतिबन्ध लगाएपनि नेपालले सहयोग नगरेको आरोप खेप्दै आएको थियो । ‘भारतीय सीमा सुरक्षा बलले जहिले पनि नेपालले हाम्रो योजनालाई सफल पार्न नदिएको भनेर गुनासो गरि रहनु अनि नेपालमै रक्सीले लफडा हुनु र सिमा पार गरेर विभिन्न चोरी, तस्करी तथा अपराधका घटनाहरु हुने हुँदा नियन्त्रण गर्ने उपाय अनुरुप मदिरा निषेधीत गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए ।  भारतको फारविसगन्जमा सल्टर हाउँस खुलेकाले गर्दा पशु चोरी हुने क्रम रोकिएको छैन । जिल्ला सुरक्षा समितिको बैठकले सीमा क्षेत्रको एक किलोमिटर नेपालतर्फ ढुंगा–गिट्टी स्टक गर्न पनि रोक लगाएको छ । सीमा क्षेत्र नजिकै स्टक गरेर रातको बेला प्रहरी नभएको मौकामा भारततर्फ निकासी गर्ने गरेकाले कडाई गरेको प्रजिअ उप्रेतीले बताए । उनका अनुसार, यदि कसैले सीमा क्षेत्रमा घर बनाउने हुँदा स्थानीय तहको अनुमति लिनुपर्ने नियम बनाइएको छ ।

जिल्ला सुरक्षा समितिले केही दिनको समय तोकेर स्थलगत रुपमा गएर रक्सी निषेधीत क्षेत्र बनाएको र ढुंगा–गिट्टी स्टक नगर्न समेत भनिएको छ । भण्टाबारीमा भारतीयहरु साँझपख जमघट थामि नसक्ने गरि हुने गरेको छ । भारतको विहार राज्यमा रक्सी प्रतिबन्ध गरिएपछि त्यहाँका नागरिक नेपाल आएर साँझपख मदिरा खाने गरेका छन् ।  देवानगन्ज वडा नं. ६ को पारिपट्टी भारत मनीकपुरबाट मात्रै दैनिक सय हाराहारी रक्सी खान नेपाल आउने गरेका छन् । भारत मनीकपुरका सन्तोष रामका अनुसार, नेपालतर्फ रक्सी पिएर राति अबेर भारत नै फर्कने गरेका छन् । मदिरा पिउन आएका पाहुनाले गर्दा सीमावर्ती क्षेत्रमा झगडा नभएको दिन हुदैन् । तीन महिना भण्टाबारीमा मदिरा पसल सञ्चालक मनोज गुप्तामाथि भारतीय नागरिकले पैसा तिर्ने बिषयमा विवाद भएर उग्र रुप लियो । त्यसक्रममा भारत विहार राज्यको सुपौल जिल्ला भीम नगरका ३० बर्षीय अर्जुन पासवानलाई प्रहरीले पक्राउ गरे पनि नेपाल प्रहरीले मुद्धा चलाउँन सकेको थिएन ।

भारतको विहारमा रक्सी प्रतिबन्ध भएपछि सीमावर्ती नेपाली बजारमा रक्सी पिउन आउनेको संख्या बढेसँगै सीमावर्ती क्षेत्रमा चौपाया चोरीका घटना समेत बढेका छन् । भोक्राहा नरसिंह वडा नं. १ का राधेश्याम यादव र शिवनारायण यादवको केही महिनाअघि भैसी चोरी भए । राधेश्यामको तीनवटा र शिवनारायणको एउटा भैसी चोरी भएको थियो । सधैभरी सीमावर्ती क्षेत्रका भैसी र गोरु भारतीय समूहले चोरी गर्ने गरेको छ। भारतीय नागरिक दिनहुँजसो नेपाल आएर बढी मदिरा खाएर लफडा गर्ने गरेकाले जिल्ला सुरक्षा समितिको बैठकले मदिरा निषेधीत क्षेत्र घोषणा गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अनुप भण्डारीले बताए । सुनसरी सीमावर्ती क्षेत्रमा ६६ किलोमिटर छ । यस क्षेत्रमा बग्रेल्ती दर्ता भएका मदिरा पसल छन । दर्ता भएका मदिरा पसल घरेलु रक्सी बनाएर घरैपिच्छे विक्री गर्ने गरिएको छ ।