भद्रपुर/ दक्षिणी झापाको कचनकवल गाउँपालिका ४ स्थित पक्लीभिट्टामा आगलागीबाट पूर्ण र आंशिक घर क्षति भएका १३ घरपरिवारलाई नेपाल रेडक्रस सोसाइटी झापाले राहत सामग्री वितरण गरेको छ । कचनकवल गाउँपालिकाले पठाएको पत्र अनुसार रेडक्रसले आगलागी पीडित घरपरिवारका सदस्यलाई उनीहरुकै घरमा पुगेर राहत सामग्री वितरण गरेको हो ।
रेडक्रसका झापा सभापति लोकराज ढकालको नेतृत्वमा गएको टोलीले पीडित परिवारलाई लुगाकपडा, त्रिपाल, भाँडाकुडा, कम्बल लगायतको सामग्री वितरण गरेका थिए । कचनकवल ४ स्थित शाह आलमको घरबाट आइतबार राती ११ बजे सल्किएको आगोले आसपासका टिनको छानो भएका आलमसहित जयनाल मियाँ, जाबुल मियाँ, फारुक मियाँ, जमशेद मियाँ, जमिल मियाँ, सुवेरा खातुन, पसरुदिन मियाँ र फारुक मियाँको घर पूर्ण रुपमा जलेर खरानी भएको थियो । त्यस्तै आंक्षिक घर क्षति भएका सादिक आलम मियाँ, मसुर मियाँ, फारविस मियाँ, नुरहुसेन मियाँ र रफिक मियाँलाई राहत प्रदान गरिएको थियो । आगलागीबाट अन्तपात, घरायशी सामग्री जलेर नष्ट हुनुका साथै ३ वटा चौपाया मरेको प्रहरीले जनाएको छ ।