बिर्तामोड । पूर्वमा जातीय पहिचान सहितको स्वायत्त राज्य गठन हुनुपर्ने माग गर्दै आएका चार राजनीतिक दल एक हुने घोषणा गरेका छन् । राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्वुवान पार्टी नेपाल, लिम्वुवान राष्ट्रिय क्रान्तिकारी पार्टी र कोचिला एकता मोर्चा बिच एकीकरण हुने भएको हो । चारवटै पार्टीले झापाको बिर्तामोडमा शनिवार संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी ६ बुँदे सहमती गर्दै पार्टी एकता गर्ने निर्णय भएको बताएका छन् । राष्ट्रिय जनमुक्ति पार्टीको नेतृत्व गर्दै आएका केपी पालुङ्वा, संघीय लिम्वुवान पार्टी नेपालको नेतृत्व गर्दै आएका सञ्जुहाङ पालुङ्वा, लिम्वुवान राष्ट्रिय क्रान्तिकारी पार्टीको नेतृत्व गर्दै आएका मिसेकहाङ थामसुहाङ र कोचिला एकता मोर्चाको नेतृत्व गर्दै आएका दिनेश राजवंशीले पार्टी एकीकरणका लागि साझा ६ बुँदे सहमती गरेका छन् । उनीहरुले एकताको मिति नतोके पनि प्राविधिक कुरा र व्यवस्थापन जती चाँडो हुन सक्छ त्यतीनै छिटो एकीकरणको मिति तोकिने बताएका छन् । ‘ससक्त आन्दोलनका लागि एकीकरण गरिएको हो’, संघीय लिम्वुवान पार्टी नेपालका अध्यक्ष पालुङ्वाले भने ‘हाम्रा अधिकार संविधानमा उल्लेख छैन, संविधान पुनर लेखनका लागि हाम्रो एकता आवश्यक छ’ । आफ्नो हक र अधिकारका लागि एकता भन्दा अर्को विकल्प नरहेको उनले बताए । पालुङ्वाले एकिकरणपछि सहमतीमा पार्टीको नेतृत्व चयन गरिने धारणा राखे । राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाले बुँदागत उल्लेख गरिएका कुराको व्यवस्थापन र पालना गर्ने पर्ने बताए । पार्टीको नाम, नेतृत्व र झण्डा जस्ता कुरामा कुनै समस्या नहुने बताउँदै मुलुकको तेस्रो शक्तिका रुपमा पार्टी निर्माण गर्ने अध्यक्ष पालुङ्वाले बताएका छन् । संघीयताको आवरणमा कायम राखिएको केन्द्रीकृत, औपनिवेशिक, एकल राष्ट्रिय राज्य संरचनाको अन्त्य गरी आत्मनिर्णयको अधिकारसहित जातीय पहिचानको आधारमा स्वायत्त राज्य, स्वायत्त क्षेत्र बिशेष क्षेत्र, संरक्षित क्षेत्र, भौगोलिक स्वायत्तसहितको संघीय लोकतान्त्रिक बहुल राष्ट्र राज्य नेपाल स्थापना गर्न सहमत, राज्यको प्रत्येक अंगहरुमा जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको सिद्धान्त लागू गर्न सहमत, समाजको आमूल रुपान्त्रण गर्न आदिवासीबाद, बहुलराष्ट्रबाद, समाजवाद, बहुजातीय लोकतान्त्रिक समाजवादको बिचार तथा सिद्धान्त अंगिकार गर्न सहमत प्रेस बिज्ञप्तीमा उल्लेख छ । साथै आन्दोलन र संघर्षको माध्यमबाट बहुसंख्यक आदिवासी, जनजाती, दलित, मुस्लिम, मधेसी, जनताको अधिकार स्थापित नगर्ने, २०७२ सालको औपनिवेशिक चरित्रको नश्लिय संविधान पुर्नलेखन गर्न सहमत, पार्टीको नाम, झण्डा, चुनाव चिन्ह साथै प्राविधिक पक्ष निकट भविश्यका हुने पार्टी एकता घोषणासभासम्म टुङ्गाउन सहमत र चारवटै पार्टीका अध्यक्षसहितको एकता संयोजन समिति निर्माण गरिएको पत्रकार सम्मेलनमा वितरित संयुक्त प्रेस विज्ञप्तीमा उल्लेख छ ।