बेलबारी । कला र साहित्यिक गतिविधिको दृष्टिकोणले मोरङमै अग्रपंक्तीमा आउने बेलबारी नगरपालिका शुक्रवार र शनिवार दुईदिन साहित्यमय बनेको छ । कला तथा साहित्य महोत्सव २०७५ कार्यक्रमको आयोजना गरि बेलबारी साहित्य विकास समिति बेलबारीले श्रष्टाहरुको जमघट गरेका हुन् । राष्ट्रिय स्तरमा ख्याति कमाएका श्रष्टा र नवप्रतिभाहरुको प्रस्तुतिले बेलबारी साहित्य र कलामय बनेको हो । महोत्सवको दोश्रो दिन गणशे लामा आँसुको कृति आँसुका फुलहरु कृतिको लोकार्पण गरिएको छ । पर्यटन तथा सँस्कृति मन्त्री रविन्द्र अधिकारीले कृतिको लोकार्पण गरेका थिए । सोही अवशरमा बेलबारी साहित्य विकास समितिले प्रकाशन शुरु गरेको साहित्यिक पत्रिका निगुरोका पनि लोकार्पण गरेका थिए । लोकार्पण कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले साहित्य समाज परिवर्तनको संभावहक रहेको बताएका छन् । पत्रिकालाई अबको प्रविधि संगै जोडेर लान पनि मन्त्री अधिकारीले सुझाव दिएका छन् । मन्त्री अधिकारी आफू साहित्य प्रति अभिरुची रहेको बताउदै कवि गोपाल प्रसाद रिमालका गीत वाचन गरेका थिए । साथै रिमालको स्मृतिमा सरकारको तर्फबाट केहि कार्यक्रम गर्ने पनि घोषणा गरेका छन् । कार्यक्रममा प्रतिनिधि सभाका संसद भानुभक्त ढकालले समाज र साहित्यको विषयमा संक्षिप्त चर्चा गरेका थिए । बेलबारीको कसेनी स्थित धनपालगडी अवलोकन गरेर आएका गजलकार वुधरानाले धनपालको प्रवद्र्धनका लागि मन्त्री अधिकारीको ध्यानाकर्षण गराउदै गजल वाचन गरेका थिए । कार्यक्रममा समालोचक पुरुषोत्तम सुवेदीले गोपालप्रसाद रिमालको कविता वाचन गर्दै रिमाललाई सरकारले विर्सनु नहुने बताएका थिए । कार्यक्रममा साहित्यकार हर्कमान तामाङले पुस्तक र पत्रिकाको विषयमा संक्षिप्त टिप्पणी र पत्रिकाका प्रधान सम्पादक ईरान राईले साहित्यिक पत्रिकाको औचित्य बारे प्रकाश पारेका थिए । कार्यक्रममा साहित्यकार मिश्र वैजयन्ती लगायत झापा , मोरङ, सुनसरी,धनकुटा , इलामका श्रष्टाहरुले रचना वाचन सहभागिता रहेका थिए । कार्यक्रम समितिका उपाध्यक्ष रमेश निरौलाको संचालन तथा रेखा सुवेदीको सभापतित्वमा सम्पन्न भएको थियो ।